२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बाढी र पहिरोको चपेटामा देश, दर्जनौं सडक अवरुद्ध



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ६७
  • काठमाडौं, असोज १९ - लगातारको वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोको कहरले यातायात व्यवस्था ठप्प भएको छ। मुख्य राजमार्गदेखि ग्रामीण सडकसम्म अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ। अत्यावश्यक सामग्रीको ढुवानी रोकिँदा बजार आपूर्तिमा समेत समस्या देखिएको छ।

    ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, सिरहा, धनुषा, महोत्तरी, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, चितवन, ललितपुर र धादिङका सडकहरू विभिन्न स्थानमा पहिरो र बाढीले अवरुद्ध गरेका छन्।

    ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–६ मेहेलेमा सडक पहिरोले आवागमन रोकिएको छ। सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ माडीखोरला सडक र सोलुखुम्बुको सदरमुकाम जोड्ने सडक पनि बन्द भएको छ। त्यस्तै, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–५ बलुवामा पनि सडक अवरुद्ध छ।

    तराई क्षेत्रमा पनि सडक अवरुद्ध भएका छन्। सिरहाको सगरमाथा राजमार्गअन्तर्गत लहान–ठाडी सडक खण्ड, धनुषाको धनुषा–सिन्धुली सडक खण्ड र महोत्तरीको बर्दिवास–जनकपुर सडक खण्ड सञ्चालनमा आउन सकेका छैनन्।

    यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्याङबुचेमा, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मा र काभ्रेको भुम्लु गाउँपालिका–१ मा पनि सडक अवरुद्ध भएको जनाइएको छ।

    मकवानपुरको हेटौँडा–कुलेखानी सडक खण्ड, चितवनको भरतपुर–ठोरी सडक, ललितपुरको महांकाल गाउँपालिका–५, र धादिङको गजुरी गाउँपालिका–४ र ५ मा पनि यातायात बन्द छ। सिन्धुलीको फिकलडाँडा–पाङ्रङ सडक खण्ड पनि पहिरोका कारण सञ्चालनमा आउन सकेको छैन।

    अविरल वर्षाका कारण देशका अधिकांश पहाडी तथा तराई क्षेत्रका सडकमा यातायात अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेको जनाइएको छ। सुरक्षा निकाय र स्थानीय प्रशासनले पहिरो हटाउने कार्य जारी राखेका छन्, तर लगातारको वर्षाले काममा कठिनाइ उत्पन्न गरेको छ।