१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रास्वपा नेतृ तोसिमा कार्कीको चेतावनी – ‘पार्टी सुधार नगरे नयाँ शक्ति निर्माण गर्छौं’



  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या २७३
  • काठमाडौं, कार्तिक २ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टी नेतृत्वमाथि कडा आपत्ति जनाउँदै संगठनात्मक सुधारको माग गरेकी छन्।

    हालै रास्वपाले नेताहरू सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्यमा नियुक्त गरेपछि नेतृ कार्की असन्तुष्ट बनेकी हुन्। उनले आइतबार पार्टी सभापति रवि लामिछानेलाई पत्र लेख्दै सचिवालय विस्तारको विरोध गर्दै चार बुँदे धारण प्रस्तुत गरेकी छन्।

    कार्कीले पार्टीभित्र आन्तरिक समीक्षा, सिद्धान्त र नीति कार्यक्रमहरूको पुनरावलोकन आवश्यक रहेको उल्लेख गर्दै रास्वपालाई समयानुकूल मध्यमार्गी राजनीतिक शक्तिको रूपमा रूपान्तरण गर्न आग्रह गरेकी छन्।

    उनका अनुसार, “पार्टीको नेतृत्वदेखि नीति कार्यक्रमसम्म पुनः मूल्यांकन गरेर अहिलेको राजनीतिक आवश्यकता अनुसार पुनर्संरचना गर्न जरुरी छ। यही सही समय हो, जहाँबाट देशले नयाँ प्रकारको मध्यमार्गी राजनीतिक विकल्प पाउन सक्छ।”

    साथै, उनले पार्टी सुधारका लागि तत्काल कदम चाल्न माग गर्दै अन्य राजनीतिक दल, स्वतन्त्र समूह र विचार समुदायहरूसँग संवाद गरेर जेन–जी आन्दोलनले देखाएको परिवर्तनलाई संस्थागत गर्न सक्ने शक्ति निर्माणमा अग्रसर हुन सभापति लामिछानेलाई सुझाव दिएकी छन्।

    उनको भनाइमा, रास्वपाले यदि आवश्यक सुधारका कदम चाल्न ढिलाइ गर्‍यो भने जनताले खोजेको वैकल्पिक मध्यमार्गी राजनीतिक विकल्प अरू बाटोबाट उदाउने संकेत मिल्दै गएको छ।