काठमाडौं, पुस १ - नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ।
निर्वाचन आयोगले मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुने तालिका सार्वजनिक गरे पनि प्राविधिक कारणले मतदान केही ढिलो सुरु हुन सक्ने जनाइएको छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मतदान प्रक्रिया दिउँसो चार बजेतिर सुरु हुने सम्भावना छ। मतदानस्थल भृकुटीमण्डपमा बिहानैदेखि नेता–कार्यकर्ता भेला भएका छन्।
पार्टी अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ। ओली प्यानलबाट महासचिवमा शंकर पोखरेल उम्मेदवार छन् भने ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डे महासचिवका प्रत्याशी छन्।
मतदान सुरु हुनुअघि ओली पक्षले महाधिवेशन स्थलमा व्यापक र आक्रामक प्रचार गरिरहेको देखिन्छ। नाराबाजी र भेटघाटमार्फत ओली पक्षले शक्ति प्रदर्शन गरिरहेका बेला ईश्वर पोखरेल समूह भने फिल्डमा कम सक्रिय देखिएको छ।
तर, पार्टीभित्रका नेताहरूका अनुसार ईश्वर समूह सतहमा नदेखिए पनि आन्तरिक रणनीति निर्माणमा व्यस्त छ। प्यानलमा नपरेर स्वतन्त्र उम्मेदवारी दिएका नेताहरूसँग निरन्तर संवाद गरिरहेको सो समूहको रणनीति रहेको बताइएको छ।
उपाध्यक्ष पदमा रघुजी पन्तले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनी ओली प्यानलमा समेटिने अपेक्षामा रहे पनि नाम नपरेपछि स्वतन्त्र रूपमा उम्मेदवार बनेका हुन्।
ओली प्यानलबाट पदाधिकारी बन्न चाहेका अग्नि खरेल र कृष्णगोपाल श्रेष्ठले पनि उम्मेदवारी दर्ता गराएका छन्। खरेलले सचिव पदमा उम्मेदवारी दिएका हुन्। उनी ओली नेतृत्वको सरकारमा महान्यायाधिवक्ता, कानुनमन्त्री तथा प्रधानमन्त्रीका विज्ञ सल्लाहकारसमेत रहेका थिए। संसद् विघटनको समयमा दिएको कानुनी सुझावलाई लिएर उनी विवादमा परेका थिए।
कृष्णगोपाल श्रेष्ठ ओली प्रधानमन्त्री हुँदा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री थिए। २०७८ सालमा त्रिवि दीक्षान्त समारोहमा उनले ओलीको खुलेर प्रशंसा गर्दै अन्तर्राष्ट्रिय फुटबल खेलाडी पेलेसँग तुलना गरेका थिए।
त्यसैगरी, ओली प्यानलमा नपरेपछि लालबाबु पण्डितले सचिव पदमा उम्मेदवारी दिएका छन् भने भीम आचार्यले उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।
मतदानको नतिजाले एमालेभित्रको आगामी नेतृत्व, शक्ति सन्तुलन र आन्तरिक समीकरण कता मोडिन्छ भन्ने विषयमा चासो बढाएको छ।
प्रतिक्रिया दिनुहोस