१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

तीन महिला मन्त्री बनेपछि एमाले सांसदको व्यङ्ग्य– ‘अब पोथीले फूल पार्ला र बच्चा जन्माउला’



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ७८
  • विराटनगर, भदौ ५ - कोशी प्रदेश सरकारमा तीन जना महिला मन्त्री समेटिएपछि प्रदेशसभा बैठकमा त्यसलाई लिएर फरक–फरक प्रतिक्रिया आएका छन्। महिला सांसदहरूले मन्त्रिपरिषद्मा महिलाको सहभागितालाई उपलब्धिका रूपमा स्वागत गरेका छन् भने एमाले सांसद तथा पूर्वमन्त्री रामबहादुर मगरले व्यङ्ग्य गरेका छन्।

    मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा गीता तिम्सिनालाई सामाजिक विकासमन्त्री, खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरणमन्त्री र सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

    शुक्रबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद मगरले मन्त्रिपरिषद्मा तीन महिला सहभागी भएको विषयमा व्यङ्ग्य गरेका हुन्। उनले ‘अब पोथीले फूल पार्ला, बच्चा जन्माउला र हुर्काउला’ भन्दै टिप्पणी गरे।

    तर महिला सांसदहरूले भने मन्त्रिपरिषद्मा महिलाको सहभागितालाई सकारात्मक रूपमा लिएका छन्। सांसद खगेश्वरी पौडेलले कार्यकालको अन्तिम चरणमा भए पनि तीन जना महिला मन्त्री बन्नु महत्वपूर्ण उपलब्धि भएको बताइन्। समानुपातिकबाट निर्वाचित महिला सांसदले समेत महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउनु गर्वको विषय भएको उनको भनाइ थियो।

    सांसद तारादेवी ढकालले महिलालाई नेतृत्वमा ल्याएर व्यवहारमै सम्मान गरेको भन्दै सरकारमा सहभागी दलप्रति धन्यवाद दिइन्। अर्की सांसद कमला थापा मगरले नयाँ महिला मन्त्रीहरूलाई चुनौतीसँगै अवसर प्राप्त भएको भन्दै सफल कार्यकालको शुभकामना दिइन्।

    बैठकमा सांसद निरन राईले कोशी प्रदेशको आर्थिक समृद्धिका लागि गाँजा खेतीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरे। नेपालमा विगतमा गाँजा खेती वैधानिक रहेको उल्लेख गर्दै उनले स्थानीय माटो र हावापानीअनुकूल खेतीलाई व्यवस्थित गर्नुपर्ने बताए।

    सांसद गयानन्द मण्डलले किसानलाई सिँचाइका लागि विद्युत् उपलब्ध गराउन माग गरे। जलस्रोतको ठूलो सम्भावना भएको मुलुकमा किसानले बोरिङ चलाउनसमेत विद्युत् नपाउनु विडम्बना भएको भन्दै उनले सिँचाइका लागि पाँच वर्षसम्म निःशुल्क विद्युत् उपलब्ध गराउन र सबै गाउँपालिकामा विद्युत् विस्तार गर्न माग गरे।

    त्यस्तै, सांसद सुनिता गच्छदारले बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको बलात्कार तथा हत्याको घटनाबारे प्रदेशसभामा आवाज उठाइन्। उनले बालिका तथा महिलामाथि हुने यस्ता जघन्य अपराध रोक्न राज्य गम्भीर हुनुपर्ने बताइन्।