काठमाडौं, पुस १० - त्रिभुवन विश्वविद्यालयले आज आफ्नो ५१औँ दीक्षान्त समारोह आयोजना गर्दैछ। यस अवसरलाई विशेष बनाउँदै विश्वविद्यालयले पहिलोपटक नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेको छ।
दीक्षान्त समारोहमा सन् २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका जापानका वैज्ञानिक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। उनी हाल टोकियो विश्वविद्यालयसँग आबद्ध छन्।
उपकुलपति प्रा. डा. दीपक अर्यालका अनुसार दीक्षान्त समारोहका लागि सबै तयारी पूरा भइसकेको छ। दीक्षित विद्यार्थी, अभिभावक र अतिथिहरूका लागि आवश्यक भौतिक पूर्वाधार तथा व्यवस्थापनको काम सकिएको उनले बताए।
यस वर्ष १६ हजार ३ सयभन्दा बढी विद्यार्थी दीक्षित हुनेछन्। समारोहमा करिब ४१ हजार जनाको उपस्थिति रहने अनुमान गरिएको छ। विश्वविद्यालयका अनुसार विभिन्न तहमा गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन्, जसमध्ये १६ हजार ३८० जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका छन्।
दीक्षान्त समारोहका क्रममा विभिन्न संकाय तथा तहमा उत्कृष्ट नतिजा हासिल गर्ने २५ जना विद्यार्थीलाई पदक प्रदान गरिनेछ। संकायगत रूपमा मानविकी, व्यवस्थापन, कानुन र शिक्षातर्फ उल्लेख्य संख्यामा विद्यार्थी उत्तीर्ण भएका छन्।
प्रतिक्रिया दिनुहोस