बुटवल, पुस १८ - एमाले परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा जाने घोषणा गरेका निवर्तमान सांसद वासु घिमिरे अन्ततः नेकपा एमालेमै रहने भएका छन्। पार्टीका शीर्ष नेतासँग लामो छलफलपछि घिमिरेले एमाले नछाड्ने निर्णय गरेका हुन्।
एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, नेता खिमलाल भट्टराईलगायत नेताहरूले मंगलबार राति रुपन्देहीको तिलोत्तमास्थित एमाले कार्यकर्ता कमल पौडेलको निवासमा घिमिरेसँग झण्डै पाँच घण्टा छलफल गरेका थिए। सो छलफलपछि घिमिरे पार्टीमै रहन सहमत भएको एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले जानकारी दिए।
छलफलका क्रममा घिमिरेले पार्टीभित्र आफूलाई गरिएको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका थिए। मेयरका रूपमा राम्रो काम गरेको र सांसदमा ठूलो मतान्तरसहित विजयी भएको नेतालाई समेत केन्द्रीय सदस्यको उम्मेदवार नबनाइनु दुःखद भएको उनको गुनासो रहेको छलफलमा सहभागी कमल पौडेलले बताए।
यसअघि घिमिरेले सामाजिक सञ्जालमार्फत एमाले छाडेको घोषणा गर्दै बालेन शाहको टिमसँग भेटघाट भएको र रुपन्देही क्षेत्र नम्बर २ बाट चुनाव लड्ने संकेत दिएका थिए। त्यसपछि उनको रास्वपामा प्रवेश हुने चर्चा चलेको थियो।
तर रास्वपा रुपन्देही क्षेत्र नम्बर ३ का सभापति मधु प्रकाश अर्यालले वासुदेव घिमिरेसँग पार्टी प्रवेशबारे सामान्य कुराकानी भए पनि उनी औपचारिक रूपमा रास्वपामा प्रवेश नगरेको स्पष्ट पारे। घिमिरेले प्रवेशको घोषणा गरेपछि एमाले नेताहरूले पुनः सम्पर्क गरी छलफल थालेकाले पछिल्लो समय उनीसँग संवादसमेत नभएको अर्यालले बताए।
प्रतिक्रिया दिनुहोस