१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सहकारी ठगी मुद्दा परिमार्जन माग्दै रवि लामिछानेको निवेदन



  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या ११५
  • काठमाडौं, पुस ३० - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगीसम्बन्धी मुद्दा परिमार्जनको माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएपछि राजनीतिक वृत्तमा हलचल मच्चिएको छ।

    कास्की जिल्ला अदालतमा दर्ता सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा संशोधन गरिदिन उनले माग गरेका हुन्।

    यस विषयमा नेकपा एमालेका सचिव महेश बस्नेतले सरकार अपराध लुकाउने प्रयासमा लागेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत उनले सांसद पद जोगाउने उद्देश्यले मुद्दा छनोट गरेर हटाउने खेल भइरहेको दाबी गरेका छन्।

    यता अभियन्ता युवराज सफलले महान्यायाधिवक्ता सविता भण्डारीमाथि मुद्दा फिर्ताको प्रक्रिया अघि बढाएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन्। उनले गोप्य भेटघाटमार्फत फाइल अघि बढाइएको दाबी गरेका छन्।

    महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीका अनुसार लामिछानेले सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता गरिदिन निवेदन दिएका हुन्। उक्त निवेदन सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयमा पठाइसकिएको छ।

    जिल्ला सरकारी वकिल कार्यालयबाट निर्णय आएपछि मात्रै महान्यायाधिवक्ता कार्यालयले थप निर्णय गर्ने जनाइएको छ। कानुन अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन नमिल्ने सूचीमा पर्ने व्यवस्था रहेको छ।