काठमाडौँ, माघ १ - नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पार्टीको अभिलेख अद्यावधिक गर्न आज निर्वाचन आयोग जाने तयारी गरेको छ।
नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक सम्पन्न गरेपछि त्यसका निर्णयसहित गगन थापा र विश्वप्रकाश शर्माको समूह निर्वाचन आयोग जाने भएको हो। यस समूहले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाले कानुनी प्रक्रियाअनुसार अभिलेख अद्यावधिक गरिनुपर्ने बताएको छ।
अधिवक्ता राजु कटवालका अनुसार विशेष महाधिवेशनका कागजात तथा निर्णयहरू दस्तावेजीकरण गर्न बिहीबार मध्यान्ह १२ देखि १ बजेको समयभित्र आयोग पुग्ने कार्यक्रम तय गरिएको छ। सो कार्यका लागि उनीसहितको टोलीले सहजीकरण गरिरहेको उनले जानकारी दिए।
बुधबार सम्पन्न कांग्रेसको विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा चयन गरेको थियो। यता, संस्थापन पक्षले भने गगन थापा र विश्वप्रकाश शर्मासहित केही नेताहरूमाथि पाँच वर्षका लागि पार्टी कारबाही गरेको निर्णय सार्वजनिक गरेको छ।
प्रतिक्रिया दिनुहोस