काठमाडौं, माघ २५ - मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको छ। विद्युतीय माध्यम प्रयोग गरी निर्वाचनलाई प्रभावित पार्ने अभिव्यक्ति दिएको आशंकामा उनलाई शुक्रबार नियन्त्रणमा लिइएको हो।
नेपाल प्रहरीको साइबर ब्युरोले निर्वाचन आयोगबाट प्राप्त पत्रका आधारमा प्रसाईंमाथि अनुसन्धान अघि बढाएको जनाएको छ। साइबर ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर देखिएकाले म्याद थप गरी थप अनुसन्धान गरिनेछ।
पक्राउ पर्नुअघि प्रसाईंले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेको खुलेको छ। उच्च सुरक्षा स्रोतका अनुसार माघ २२ गते भक्तपुरमा प्रसाईं र ओलीबीच भेटवार्ता भएको थियो। त्यसपछि प्रसाईं वीरगञ्जमा आयोजना गर्न लागेको कार्यक्रममार्फत फागुन २१ मा हुन लागेको निर्वाचन बिथोल्ने योजना रहेको सुराक पाएपछि सुरक्षा निकाय सक्रिय भएको बताइएको छ।
सुरक्षा निकायले उक्त गतिविधिबारे अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएपछि प्रसाईंलाई नियन्त्रणमा लिने निर्णय भएको एक उच्च प्रहरी अधिकृतले बताए।
एमाले अध्यक्ष ओली झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख बालेन्द्र शाह (बालेन) पनि चुनावी प्रतिस्पर्धामा छन्।
यसअघि पनि प्रसाईं पटक–पटक पक्राउ परिसकेका छन्। माघ ५ गते पोखराबाट पक्राउ परेका उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा बयान लिएपछि हाजिर जमानीमा रिहा गरिएको थियो। उनले नेपाली कांग्रेसको विशेष महाधिवेशनसँग सम्बन्धित विषयमा निर्वाचन आयोगमा रकम बुझाइएको दाबी गर्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए।
त्यसैगरी, २०८१ मंसिर ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको विदेशस्थित टेलिकम कम्पनीमा लगानी रहेको आरोप लगाएपछि पनि प्रसाईं पक्राउ परेका थिए। उक्त प्रकरणमा फर्जी कागजात बनाएको आरोपमा साइबर अपराध, लिखत किर्ते, आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धान गरिएको थियो।
यसअघि ओलीसँग निकट सम्बन्ध रहेको भनिएका प्रसाईं पछिल्लो समय किन पुनः भेटघाटमा पुगे भन्ने विषयले राजनीतिक वृत्तमा विभिन्न प्रश्नहरू उठाइरहेको छ।
प्रतिक्रिया दिनुहोस