सिरहा, माघ २३ - उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदातालाई भाषणभन्दा काम गर्ने नेतृत्वलाई अवसर दिन आग्रह गरेका छन्। शुक्रबार सिरहा–धनुषा जोड्ने कमला पुलको निरीक्षणका क्रममा उनले कामकै आधारमा जनताले निर्णय गर्नुपर्ने बताए।
घिसिङले आफू काममा विश्वास गर्ने व्यक्ति भएकाले एकपटक मौका दिन मतदातासँग अपिल गरे। नयाँ राजनीतिक शक्तिका रूपमा उदाएका युवाहरू परिवर्तनका लागि प्रतिबद्ध रहेको दाबी गर्दै उनले पुराना दलहरू कामभन्दा वक्तृत्वमै सीमित भएको टिप्पणी गरे।
उनका अनुसार जनतालाई छल्ने र काम नगर्ने प्रवृत्तिको समय सकिएको छ। “काम गर्ने नै जनताको प्रिय बन्छ, काम गर्नेले नै जननेताको पहिचान पाउँछ,” उनले भने।
घिसिङले गुणस्तरीय शिक्षा, कृषि रूपान्तरण, सिँचाइ, विद्युतीकरणलगायत पूर्वाधार विकासमा आफ्नो पार्टी केन्द्रित रहने बताए। यी क्षेत्रमार्फत देशको अर्थतन्त्र सुदृढ बनाउने स्पष्ट योजना आफूहरूसँग रहेको उनको दाबी छ।
प्रतिक्रिया दिनुहोस