२६ माघ २०८२ सोमबार | 09 Feb 2026 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अब उपचारका लागि घरजग्गा बेच्न नपरोस्: स्वास्थ्य बीमामा गगन थापाको प्रतिबद्धता



  • अञ्जना ढकाल
  • १७ घण्टा अघि
  • पाठक संख्या ५०
  • काठमाडौँ, माघ २५ - नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइने बताएका छन्। स्वास्थ्यलाई परोपकार नभई नागरिकको सुरक्षाको आधार मान्दै अबको सरकारले यसलाई उच्च प्राथमिकता दिने उनको भनाइ छ।

    सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै थापाले उपचारका लागि घरजग्गा बेच्नुपर्ने अवस्थाको अन्त्य गर्न कांग्रेससँग स्पष्ट योजना रहेको दाबी गरे। पैसाको अभावमा उपचार छाड्नुपर्ने बाध्यता र गम्भीर रोगले परिवारलाई पुनः गरिबीमा धकेल्ने अवस्थाप्रति उनले चिन्ता व्यक्त गरे।

    विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नागरिकको व्यक्तिगत खर्च २० प्रतिशतभित्र सीमित हुनुपर्ने भए पनि नेपालमा यो ५७ प्रतिशतभन्दा माथि रहेको उल्लेख गर्दै थापाले राज्यको भूमिका कमजोर भएको बताए। यसले स्वास्थ्य प्रणालीमा व्यापक सुधार आवश्यक रहेको उनको निष्कर्ष छ।

    स्वास्थ्य बीमा सुधारका लागि थापाले चार आधारस्तम्भ अघि सारेका छन्। सबै नागरिकलाई अनिवार्य बीमामा समेट्ने, विपन्न तथा असहायको प्रिमियम राज्यले तिर्ने, स्वास्थ्य र सामाजिक सुरक्षा कार्यक्रम एकीकरण गर्ने तथा डिजिटल प्रणालीमार्फत सुशासन कायम गर्ने योजना उनले सार्वजनिक गरेका छन्।

    आगामी पाँच वर्षभित्र चरणबद्ध रूपमा स्वास्थ्य बीमालाई पूर्ण कार्यान्वयनमा ल्याउने लक्ष्य रहेको थापाले बताए। सीमित उपचार बाहेक अधिकांश उपचार खर्च बीमाले कभर गर्ने व्यवस्था मिलाइने भन्दै उनले स्वास्थ्यलाई संवैधानिक हकका रूपमा सुनिश्चित गरिने प्रतिबद्धता जनाए।