काठमाडौं, माघ २५ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा आफ्नो पार्टी कमजोर भए देश गम्भीर दुर्घटनातर्फ धकेलिन सक्ने चेतावनी दिएका छन्। उनले राप्रपालाई बलियो नबनाइए देश जेनजी आन्दोलनभन्दा पनि ठूलो अस्थिरतामा फस्ने दाबी गरे।
आइतबार काठमाडौंमा आयोजित पार्टीका उम्मेदवारहरूको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले वर्तमान परिस्थितिमा देश निर्माणभन्दा बढी संरक्षण आवश्यक भएको बताए। उनले राज्यका संवेदनशील संरचनामाथि आगजनी गर्न उक्साउने प्रवृत्ति र त्यसलाई रोक्न असफल नेतृत्वप्रति संकेत गर्दै बढ्दो अतिवादप्रति चिन्ता व्यक्त गरे।
उनले निर्वाचनलाई सामान्य प्रतिस्पर्धा मात्र नभई देशलाई दुर्घटनाबाट जोगाउने लोकतान्त्रिक अवसरका रूपमा लिनुपर्ने धारणा राखे। यसका लागि मतदाताले राप्रपालाई समर्थन गर्नुपर्ने उनको आग्रह थियो।
लिङदेनले राप्रपाले कुनै प्रकारको विद्रोह वा विध्वंशको धम्की नदिएको स्पष्ट पार्दै संसदमा पार्टीको उपस्थिति कमजोर भए अन्य शक्तिहरूको अकर्मण्यता र गैरजिम्मेवार व्यवहारका कारण देश अझ ठूलो संकटतर्फ जाने सम्भावना रहेको बताए। देशलाई थप अस्थिरताबाट बचाउन राप्रपालाई जिताउनु आवश्यक रहेको उनको निष्कर्ष थियो।
प्रतिक्रिया दिनुहोस