काठमाडौँ, फागुन ४ - आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रहरी प्रधान कार्यालयले देशभर थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ। निर्वाचनलाई भयरहित, निष्पक्ष र व्यवस्थित बनाउन केन्द्रबाट करिब १३ हजार प्रहरी थप रूपमा खटाइने तयारी गरिएको हो।
प्रहरीका अनुसार देशभरका १० हजार ९६७ मतदान स्थलको सुरक्षाका लागि पहिलो चरणमै ४४ जना डीएसपी र ११० जना इन्स्पेक्टर परिचालन भइसकेका छन्। अब थप १ सय डीएसपी र ४ सय इन्स्पेक्टरलाई मैदानमा खटाइने योजना बनाइएको छ। पहिलो चरणका अधिकृतहरू फिल्डमा पुगिसकेको प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले जानकारी दिए।
अति संवेदनशील मतदान स्थल बढी रहेका मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सुरक्षाकर्मीको संख्या उल्लेख्य रूपमा बढाइने भएको छ। मधेस प्रदेशका ८ जिल्लामा १ हजार २४६ मतदान स्थल अति संवेदनशील सूचीमा परेका छन्। त्यस्तै लुम्बिनीमा ४६२, सुदूरपश्चिममा ४८१, कोशीमा ४३९, बागमतीमा ३५४, गण्डकीमा ३२८ र कर्णालीमा ३५८ मतदान स्थल अति संवेदनशील सूचिमा राखिएका छन्।
एकीकृत सुरक्षा योजना अनुसार निर्वाचन सुरक्षामा नेपाल प्रहरीका ७३ हजार, म्यादीसहित १ लाख ३३ हजार ९८०, सशस्त्र प्रहरी बलका १५ हजार ११० र नेपाली सेनाका ७९ हजार सुरक्षाकर्मी परिचालन हुनेछन्। राष्ट्रिय अनुसन्धान विभागका करिब २ हजार जनशक्ति सूचना सङ्कलनमा खटिनेछन्। यसरी मतदान स्थल र केन्द्रको सुरक्षामा कुल ३ लाख १५ हजार सुरक्षाकर्मी परिचालित हुनेछन्।
प्रहरीले प्रत्येक पालिकामा दुई जना इन्स्पेक्टर खटाउने व्यवस्था मिलाएको छ भने उपमहानगरपालिकामा ३ र महानगरपालिकामा ४ जना इन्स्पेक्टर परिचालन गरिनेछ। आवश्यकता अनुसार डीएसपीको कमाण्डमा रिजर्भ टोली परिचालन गरिनेछ।
प्रतिक्रिया दिनुहोस