काठमाडौं, फागुन ६ - नेपाली कांग्रेसका सभापति गगन थापाले देश रूपान्तरणका लागि भावनात्मक प्रतिक्रिया मात्र पर्याप्त नहुने बताएका छन्। उनले सुधारको स्पष्ट प्रतिबद्धता, योजना र सहकार्यको राजनीतिमार्फत अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाललाई अहिले वास्तविक सुधार आवश्यक रहेको र त्यसको सुनिश्चितताका साथ आफूहरू अगाडि बढेको उल्लेख गरे।
आगामी पाँच वर्षलाई निर्णायक समयका रूपमा व्याख्या गर्दै उनले विगतका वर्षहरूमा अपेक्षित विकास हुन नसकेको स्वीकार गरे। त्यसमा आफ्नो पार्टीको पनि हिस्सेदारी रहेको मान्दै अब समय खेर नफाल्ने संकल्प गरिएको उनको भनाइ थियो।
सभापति थापाले विशेषगरी युवापुस्तामा बढ्दो असन्तोषलाई स्वाभाविक भन्दै वर्तमान शासनशैलीप्रति उठेका प्रश्नहरू जायज रहेको बताए। देश परिवर्तनका लागि केवल रिस, उत्तेजना वा आवेगले नपुग्ने र ठोस नीति, स्पष्ट योजना तथा जिम्मेवार नेतृत्व आवश्यक पर्ने उनको जोड थियो।
उनले सबै राजनीतिक दलहरूको सहभागिता र सहकार्यविना समृद्धि सम्भव नहुने उल्लेख गर्दै एमाले, माओवादी, रास्वपा, जसपालगायत सबै शक्तिहरूलाई समेटेर अघि बढ्ने वातावरण बनाउनुपर्ने धारणा राखे। फरक विचार र प्रतिस्पर्धा भए पनि साझा लक्ष्य राष्ट्र निर्माण भएकाले सहकार्यको राजनीति आजको आवश्यकता भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस