हेटौंडा, फागुन ११ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टी परित्याग गरी पुनः नेपाली कांग्रेसमा फर्किएका छन्। लामो समय कांग्रेसमा सक्रिय राजनीति गरेका पराजुली पछिल्लो समय रास्वपाको नेतृत्वमा थिए।
रास्वपाले हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा सभा आयोजना गरिरहेको समयमा पराजुली भने सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका हुन्। उनलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले पार्टीमा स्वागत गरेका थिए। पराजुलीसँगै रास्वपा मकवानपुरका केही नेताहरू पनि सर्लाही पुगेका थिए।
कांग्रेस प्रवेशपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पराजुलीले रास्वपाको नेतृत्व शैलीप्रति असन्तुष्टि जनाएका छन्। उनले पार्टीभित्र सीमित व्यक्तिको प्रभाव बढ्दै गएको, चाकरी प्रवृत्ति हाबी भएको, आलोचनालाई अस्वीकार गर्ने संस्कार विकसित भएको तथा आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको आरोप लगाएका छन्। आफूले बुझेको मूल्य र आदर्शअनुसार व्यवहार नदेखिएको महसुस भएपछि पार्टी छोड्ने निर्णय गरेको उनको भनाइ छ।
मनहरी गाउँपालिकाका बासिन्दा पराजुली ६ मंसिर २०८१ मा सम्पन्न रास्वपाको पहिलो जिल्ला भेलाबाट सर्वसम्मत रूपमा सभापतिमा पुनः चयन भएका थिए। यसअघि कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनी १२ हजार ३९ मतसहित तेस्रो स्थानमा रहे।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले पुनः उम्मेदवार बन्ने इच्छा राखेका थिए। तर टिकट वितरणका क्रममा उनी वञ्चित भएपछि असन्तुष्ट बनेका थिए। स्रोतका अनुसार, टिकट नपाएपछि उनले कांग्रेसका नेताहरूसँग निरन्तर संवाद गरिरहेका थिए।
पराजुली कांग्रेसका पुराना तथा जिल्लाको पश्चिमी क्षेत्रमा प्रभावशाली नेताका रूपमा चिनिन्छन्। शालीन र भद्र स्वभावका नेताको रूपमा छवि बनाएका उनी पुनः कांग्रेसमा फर्किएसँगै मकवानपुरको राजनीतिक समीकरणमा नयाँ चर्चा सुरु भएको छ।
प्रतिक्रिया दिनुहोस