काठमाडौं, फागुन २८ - ललितपुरका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई राजीनामा नदिन आग्रह गरेका छन्। उनीहरूले पार्टीलाई मजबुत बनाउन थापाको नेतृत्व आवश्यक रहेको बताएका छन्।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसहितका जनप्रतिनिधिहरूले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक परिस्थितिमा थापाको नेतृत्व अपरिहार्य रहेको बताएका हुन्।
विज्ञप्तिमा जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र महांकाल गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन लगायतले हस्ताक्षर गरेका छन्।
विशेष महाधिवेशनबाट निर्वाचित थापासहितका धेरै पदाधिकारी प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनले राजीनामा दिने वा नदिने विषयमा पार्टीभित्र बहस भइरहेको छ।
जनप्रतिनिधिहरूले समसामयिक राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्न थापाको नेतृत्व निरन्तर आवश्यक रहेको उल्लेख गर्दै राजीनामा नदिन आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस