काठमाडौँ, चैत २२ - श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नवनिर्वाचित सभामुखबाट सदन सञ्चालनमा निष्पक्षता कायम हुने अपेक्षा व्यक्त गरेका छन्।
आइतबार सिंहदरबारस्थित संसद भवनमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले सभामुखले कुनै दलको प्रभावबाट अलग रहँदै सबै सांसदलाई समान व्यवहार गर्ने विश्वास व्यक्त गरे। उनले सभामुखलाई साझा अभिभावकको भूमिकामा रहनुपर्ने उल्लेख गरे।
राईका अनुसार हालको जनमत पुरानो शैलीभन्दा फरक रहेकोले संसदमा सबै दललाई बराबरी व्यवहार हुनुपर्ने आवश्यकता छ। यदि संसदमा विभेदपूर्ण व्यवहार देखिएमा प्रतिपक्षको भूमिकामा रहेर आफ्नो पार्टीले सशक्त रूपमा आवाज उठाउने चेतावनी पनि उनले दिए।
यसैबीच, प्रतिनिधिसभाको उपसभामुख पदमा आफ्नो पार्टीको दाबी रहेको उनले स्पष्ट पारे। उक्त विषयमा आन्तरिक छलफल भइरहेको र छिट्टै निष्कर्षमा पुग्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस