१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सानो मतभेदले रगत बगायो : पाटनमा झगडाले छुरा प्रहारमा परिणत, दुई युवकको निधन



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या ११४
  • ललितपुर, चैत २६ - ललितपुरको पाटन क्षेत्रमा छुरा प्रहारबाट गम्भीर घाइते भएका दुई दाजुभाइको उपचारका क्रममा मृत्यु भएको छ। कृष्ण मन्दिर परिसरमा भएको उक्त घटनाले स्थानीय क्षेत्रमा त्रासको वातावरण सिर्जना गरेको छ।

    मृत्यु हुनेमा झापा कमल गाउँपालिका–६ घर भई हाल ललितपुरको इमाडोल बस्दै आएका ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङ रहेका छन्। दुवै जना चैत २५ गते साँझ छुरा आक्रमणमा परेका थिए।

    घटनापछि गम्भीर अवस्थामा रहेका उनीहरूलाई उपचारका लागि बिएण्डबी अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा दुवैको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

    प्रहरीका अनुसार दुई पक्षबीच भएको विवादका कारण उक्त आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुवै दाजुभाइको पेटमा गहिरो चोट लागेको थियो।

    यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–९ भोलटोलका ३२ वर्षीय सञ्जीव नेपाली र नवलपरासी गैँडाकोट घर भई ललितपुर बिहानल बस्ने २१ वर्षीय गगन सुनार रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।