३ बैशाख २०८३ बिहिबार | 16 Apr 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सुनमा उद्योगमन्त्री अगाडि : १८० तोला सुनले सबैलाई उछिने, कुन मन्त्रीको कति?



  • अञ्जना ढकाल
  • ३ दिन अघि
  • पाठक संख्या ४६
  • काठमाडौं, चैत ३० - प्रधानमन्त्री बालेन्द्र शाह सहित मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ सबै मन्त्रीहरूको विवरण सार्वजनिक गरेको हो। नयाँ सरकार गठन भएदेखि सम्पत्ति विवरण नखुलाएको भन्दै उठिरहेका प्रश्नबीच यो विवरण सार्वजनिक गरिएको हो।

    सार्वजनिक विवरणअनुसार उद्योगमन्त्री गौरी कुमारीसँग सबैभन्दा धेरै सुन रहेको देखिएको छ। उनले आफ्नो सम्पत्ति विवरणमा १८० तोला सुन रहेको उल्लेख गरेकी छन्। त्यसैगरी प्रधानमन्त्री शाहले १९० तोला गरगहना रहेको जनाए पनि सुन, चाँदी वा अन्य धातुको छुट्टै विवरण भने दिएका छैनन्।

    गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला र श्रममन्त्री रामजी यादवसँग ८० तोला सुन रहेको विवरणमा उल्लेख छ। अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ४५ तोला सुन रहेको छ भने भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र स्वास्थ्य मन्त्री निशा मेहेतासँग ३०–३० तोला सुन रहेको जनाइएको छ।

    संघीय मामिला मन्त्री प्रतिभा रावल र शिक्षामन्त्री सस्मित पोखरेलसँग २५–२५ तोला, परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला र महिला बालबालिका मन्त्री सीता वादीसँग १८ तोला सुन रहेको विवरणमा उल्लेख गरिएको छ।

    यस्तै ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र कानुनमन्त्री सोविता गौतमसँग १५–१५ तोला, पर्यटनमन्त्री खडकराज पौडेलसँग ११ तोला तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनासँग करिब ७ तोला सुन रहेको छ। कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग भने ५ तोला सुन रहेको उल्लेख गरिएको छ।

    सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिन थालेका छन्। विशेषगरी मन्त्रीहरूको गरगहना र सम्पत्तिको स्रोतबारे प्रश्न उठाउँदै पारदर्शिता र जवाफदेहिताको माग बढ्दै गएको छ।