काठमाडौँ, वैशाख ७ - राष्ट्रिय स्वतन्त्र पार्टीका गृहमन्त्री तथा सांसद सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । विभिन्न विवादमा नाम जोडिएपछि उनीमाथि पार्टीभित्रै कारबाहीको चर्चा भइरहेका बेला सोमबार बिहान उक्त भेट भएको हो ।
सम्पत्ति शुद्धीकरण मुद्दाका अभियुक्त दीपक भट्ट तथा शंकर समूहसँग व्यापारिक सम्बन्ध रहेको खुलासा भएपछि गुरुङ आलोचनामा परेका छन् । यही पृष्ठभूमिमा उनले बुढानीलकण्ठस्थित लामिछाने निवास पुगेर भेटघाट गरेका हुन् ।
गोरखा–१ बाट निर्वाचित गुरुङ चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए । पछिल्लो विवादले उनलाई थप दबाबमा पार्दै लगेपछि पार्टीभित्रै शीर्ष नेताहरूबीच छलफल तीव्र भएको छ ।
गुरुङलाई कारबाही गर्ने वा नगर्ने विषयमा निर्णय लिन सोमबार दिउँसो केन्द्रीय समिति बैठक बस्ने तयारी छ । यसअघि नै पार्टी अनुशासन आयोगले पनि यसबारे आन्तरिक तयारी अघि बढाएको बताइएको छ ।
पार्टीभित्र बढ्दो दबाबबीच गुरुङको दौडधुप बढेको देखिएको छ भने बैठकले लिने निर्णयलाई चासोका साथ हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस