काठमाडौं, वैशाख ९ - सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो सम्पूर्ण सम्बन्ध अन्त्य गरेका छन् । यसअघि अध्यक्ष परिषद् सदस्य पदबाट राजीनामा दिएका उनले अब साधारण सदस्यता समेत त्यागेको जानकारी दिएका हुन् ।
सामाजिक सञ्जालमार्फत उनले प्रलोपा छोड्ने निर्णय सार्वजनिक गर्दै करिब पाँच महिनाको आफ्नो राजनीतिक यात्रामा साथ दिने नेताहरू, सहकर्मी तथा कर्मचारीप्रति आभार व्यक्त गरेका छन् ।
किराँती माओवादी र एकीकृत समाजवादी लगायतका दलहरूको एकीकरणपछि जनार्दन शर्मा लगायतका नेतासँगै प्रलोपामा आबद्ध भएका थिए । तर पछिल्लो समय उनले पार्टीसँगको सम्बन्ध क्रमशः तोड्दै आएका थिए ।
पार्टीसँगको औपचारिक सम्बन्ध अन्त्य भए पनि आपसी सम्मान र सद्भाव कायम रहने विश्वास उनले व्यक्त गरेका छन् । साथै भविष्यमा पनि देश र जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता दोहोर्याएका छन् ।
आगामी राजनीतिक यात्रा चुनौतीपूर्ण हुन सक्ने उल्लेख गर्दै उनले जनताको भरोसा र शहीदको बलिदानलाई मार्गदर्शनका रूपमा लिँदै अघि बढ्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस