४ जेठ २०८३ सोमबार | 18 May 2026 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मन्त्री बिना पनि बस्न सकिने गरी संसदीय समितिको बैठकसम्बन्धी नयाँ व्यवस्था प्रस्ताव



  • अञ्जना ढकाल
  • १ घण्टा अघि
  • पाठक संख्या २१
  • काठमाडौं, जेठ ४ - प्रतिनिधिसभा नियमावलीमा संशोधन गर्दै मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक सञ्चालन गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ । समितिको कामलाई प्रभावकारी बनाउन यस्तो व्यवस्था ल्याउन लागिएको बताइएको छ ।

    सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

    प्रस्तावित नयाँ नियमावलीको नियम १७८ अन्तर्गत विषयगत समितिको काम, कर्तव्य र अधिकारबारे उल्लेख गरिएको छ । उक्त नियमको उपनियम ४ मा विधेयकसम्बन्धी छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य रहने, तर अन्य कार्यसूचीमा आवश्यकताअनुसार मात्रै मन्त्री उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।

    हाल कायम रहेको प्रतिनिधिसभा नियमावली २०७९ अनुसार भने समितिका सबै बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य मानिएको छ । नयाँ प्रस्तावले यस व्यवस्थामा परिवर्तन गर्दै केही अवस्थामा मन्त्री अनुपस्थित भए पनि बैठक सञ्चालन गर्न बाटो खुला गर्ने देखिएको छ ।

    संसदीय समितिका बैठकहरू मन्त्रीको व्यस्तता वा समय अभावका कारण पटक–पटक प्रभावित हुँदै आएको भन्दै यस्तो संशोधन आवश्यक परेको बताइएको छ । विशेषगरी विधेयकबाहेकका विषयमा समितिको काम रोक्न नपरोस् भन्ने उद्देश्यले नियमावली परिमार्जन गर्न लागिएको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले समितिको नियमित कामलाई सहज बनाउन र बैठक अवरुद्ध हुने अवस्था हटाउन यो व्यवस्था उपयोगी हुने बताएका छन् । उनीहरूका अनुसार नयाँ प्रावधानले संसदीय समितिको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।