काठमाडौं, जेठ ५ - पश्चिम एसियामा बढ्दो द्वन्द्वको असर नेपालका विकास निर्माण क्षेत्रमा देखिन थालेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा निर्माण सामग्रीको भाउसमेत आकासिएको व्यवसायीहरूले बताएका छन् ।
निर्माण व्यवसायीहरूका अनुसार बिटुमिन, डन्डी, सिमेन्ट र डिजेलको मूल्य उल्लेख्य रूपमा बढेको छ । बिटुमिनको मूल्य मात्रै १०७ प्रतिशतसम्म बढेको दाबी गरिएको छ । यसले देशभर सञ्चालनमा रहेका करिब ३० हजार आयोजना प्रभावित बनेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघले पुराना दररेटमा काम गर्न नसकिने अवस्था आएको जनाएको छ । महासंघका प्रवक्ता मंगलबहादुर शाहीका अनुसार डिजेल, श्रमिक ज्याला र अन्य सामग्रीको मूल्यवृद्धिले निर्माण लागत अत्यधिक बढाएको छ ।
महासंघका निवर्तमान अध्यक्ष रवि सिंहले निर्माण क्षेत्र इतिहासकै गम्भीर संकटमा पुगेको बताए । सामग्रीको अभाव, गुणस्तरमा समस्या र स्थानीय तहको कर नीतिले व्यवसायी थप समस्यामा परेको उनको भनाइ छ ।
व्यवसायीहरूका अनुसार निर्माण आयोजनाको लागत ३० देखि ४० प्रतिशतसम्म बढेको छ । विशेषगरी सडक कालोपत्रेसम्बन्धी काम बिटुमिन अभावका कारण सुस्त बनेका छन् । कतिपय आयोजनाको काम रोकिएको समेत बताइएको छ ।
निर्माण व्यवसायीहरूले मूल्य समायोजन, म्याद थप र काम रोकिएका व्यवसायीलाई कालोसूचीमा नराख्न सरकारसँग माग गरेका छन् । माग पूरा नभए निर्माण क्षेत्र थप संकटमा जाने चेतावनी उनीहरूले दिएका छन् ।
उता सडक विभागले भने समस्या समाधानका लागि अध्ययन भइरहेको जनाएको छ । विभागका अनुसार बजार मूल्यवृद्धि र कानुनी व्यवस्थाबारे विश्लेषण गरी चाँडै नीतिगत निर्णय लिने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस