२२ असार २०८३ सोमबार | 06 Jul 2026 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ललितपुरमा युवतीमाथि अश्लील हर्कत गरेको आरोपमा सरकारी कर्मचारी पक्राउ



  • अञ्जना ढकाल
  • २ घण्टा अघि
  • पाठक संख्या ३४
  • ललितपुर, असार २२ - ललितपुरको इमाडोल क्षेत्रमा एक्लै हिँडिरहेकी युवतीमाथि सार्वजनिक स्थानमा अश्लील हर्कत गरेको आरोपमा प्रहरीले एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडी घर भएका सुरेन्द्र भट्ट रहेका छन्।

    घटना आइतबार साँझ करिब साढे ६ बजेतिर भएको बताइएको छ। पीडित युवतीले आरोपितले सार्वजनिक स्थानमै अश्लील व्यवहार गरेको भन्दै मोबाइलमा भिडियो रेकर्ड गरेकी थिइन्। उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो।

    जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार घटनाको अनुसन्धानपछि सुरेन्द्र भट्टलाई नियन्त्रणमा लिइएको हो। उनी शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत सरकारी कर्मचारी रहेको खुलेको प्रहरीले जनाएको छ।

    युवतीले घटनापछि साहसका साथ आरोपितको भिडियो खिच्दै उनलाई पछ्याएकी थिइन्। स्थानीयको सहयोगमा आरोपितलाई नियन्त्रणमा लिइएको भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसमा आरोपितले आफ्नो व्यवहारप्रति क्षमायाचना गरेको देखिन्छ।

    पीडितले प्रहरीमा औपचारिक उजुरी दिएपछि प्रहरी प्रभाग इमाडोलले घटनाको अनुसन्धान अघि बढाएको हो। प्रहरीले घटनास्थल आसपासका सिसिटिभी फुटेज सङ्कलन गरी थप प्रमाण जुटाउने काम गरिरहेको जनाएको छ।

    प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। दोष पुष्टि भए प्रचलित कानुनअनुसार आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ।