झापा, साउन ३० - नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र पुनर्गठनको बहस चलिरहे पनि अहिले एमालेलाई संगठनात्मक पुनर्जागरण आवश्यक रहेको बताएका छन्।
झापाबाट ‘मिसन पार्टी पुनर्जागरण अभियान’ सुरु गर्दै ओलीले पार्टीलाई आगामी राजनीतिक चुनौती र निर्वाचनका लागि थप एकताबद्ध तथा सक्रिय बनाउनुपर्नेमा जोड दिए। उनले कार्यकर्तालाई आपसी विवाद र गुटबन्दीमा अल्झिनुभन्दा पार्टीको पक्षमा जनमत निर्माण गर्न केन्द्रित हुन आग्रह गरे।
पार्टी अध्यक्ष हटाउनुपर्ने भन्दै अभियान चलाइएको विषयमा पनि ओलीले असन्तुष्टि जनाए। उनले कार्यकर्ताको पंक्ति अध्यक्ष हटाउने पक्षमा नरहेको दाबी गर्दै यस्ता गतिविधिको पछि नलाग्न आग्रह गरे।
ओलीले पार्टीभित्र गुटबन्दी बढाउने प्रयासले विगतमा समेत एमालेमा समस्या निम्त्याएको उल्लेख गरे। पुनर्गठनको नाममा नेतृत्व परिवर्तनको अभियान चलाउने र बाहिर पार्टी एकताको कुरा गरेजस्तो देखाएर भित्रभित्रै विभाजनको गतिविधि गर्ने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ थियो।
उनले आगामी निर्वाचनलाई लक्षित गर्दै एमालेका कार्यकर्तालाई प्रत्येक वडामा संगठन विस्तार र जनसम्पर्क अभियान तीव्र बनाउन निर्देशन दिए। हरेक वडामा ५१ प्रतिशतभन्दा बढी मत ल्याउने लक्ष्यसहित घरदैलोमा पुग्नुपर्ने उनले बताए।
ओलीले फागुन २१ को निर्वाचनमा जनताबाट भएको भनिएको ‘गल्ती’ आगामी प्रदेश तथा स्थानीय तहका निर्वाचनमार्फत सच्याउनुपर्ने धारणा पनि राखे। त्यसका लागि जनतामाझ पुगेर एमालेका एजेन्डा र पार्टीको भूमिका स्पष्ट पार्न कार्यकर्तालाई उनले आग्रह गरे।
उनका अनुसार आगामी राजनीतिक र निर्वाचन चुनौती सामना गर्न एमालेभित्र एकता, उच्च मनोबल र सक्रिय संगठन आवश्यक छ। गुटगत गतिविधिभन्दा पार्टीलाई पुनर्जागृत गर्ने अभियानमा सबै केन्द्रित हुनुपर्ने ओलीको जोड थियो।
प्रतिक्रिया दिनुहोस