वीरगंज । वीरगंज महानगरका मेयरले आफूमाथि लागेको सरकारी कागजात किर्ते आरोपबाट बच्न प्रमाण मेटाउने प्रयास गरेका छन् ।
आफूमाथि लागेको सरकारी कागजात किर्ते आरोपको प्रमाण बदल्न मेयरले नजिकका मानिसहरु परिचालित गरेर तत्कालिन पञ्जिकरण अधिकारीलाई ५० लाख रुपैयाँ घुस प्रस्ताव गरेको सिधाकुराले फेला पारेको छ ।
उपलब्ध प्रमाणअनुसार मेयरका नजिकका मानिसहरुले तत्कालिन समयमा बनेको जन्मदर्ता लगायतका सरकारी कागजातमा हस्ताक्षर बदल्न सघाए पञ्जिकरण अधिकारी भिखारी यादवलाई २५ देखि ५० लाख रुपैयाँसम्म रकम उपलब्ध गराउने बताएका छन् ।
अर्काकी छोरीलाई आफ्नै छोरी भनी नागरिकता दिलाउन मेयर सिंहले तत्कालिन वीरगंज उपमहानगरका वडा नम्बर ३ बाट किर्ते गरी जन्मदर्ताको कागजात तयार गरेका थिए । तत्कालिन सो वडाका पञ्जिकरण अधिकृत भिखारी यादव कार्यालयमै नभएको बेला उनको नक्कली हस्ताक्षर प्रयोग गरेर जन्मदर्ता जारी भएको । स्वयम् रायले भिडियो संवाद गर्दै जन्मदर्तामा उल्लेख भएको हस्ताक्षर किर्ते रहेको बताएका थिए ।
सोही जन्मदर्ताको आधारमा मयेर सिंहले रुबिना श्रेष्ठको नाममा नागरिकता र पासपोर्ट लगायतको कागजातसमेत जारी गराएका थिए । यही आरोपमा मेयर सिंह बिरुद्ध नागरिकता किर्तेसहितका सरकारी कागजात किर्ते गरेको आरोपमा फरक फरक ४ वटा जाहेरी दर्ता भइसकेका छन् । आफूमाथि लागेको आरोपबाट उम्किन मेयर सिंहले प्रमाण मेटाउन आफ्ना साथीहरुमार्फत रायलाई घुस रकम अफर गरेको देखिन्छ ।
मेयरको प्रस्ताव लिएर जिल्ला समन्वय समिति पर्साका अध्यक्ष अजय सर्राफ, वडा नम्बर १५ का वडा अध्यक्ष रमेश यादव, जसपाको नगर अध्यक्ष ईश्वर यादव र मेयरका विश्वास पात्र वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार तत्कालिन पञ्जिकरण अधिकारी भिखारी राय यादवको घरमै पुगेका थिए । उनीहरुले पुरानै मितिमा नयाँ कागजातमा सही छाप गर्न वा यसअघि जारी भइसकेको जन्मदर्ताको हस्ताक्षर आफ्नै हो भनी स्वीकार गर्न दबाब दिएका थिए ।
यसअघि जारी भएको कागजातमा गरिएको हस्ताक्षर आफ्नै हो भन्नुहोस् वा हामी पुरानो मिति राखेर नयाँ कागजात ल्याउँछौं । यसलाई पुरानै मितिमा हस्ताक्षर गर्नुहोस्,’ मेयरका मानिसहरुको भनाई उधृत गर्दै राय भन्छन्, ‘यसो गरे २५ देखि ५० लाख रुपैयाँसम्म दिने प्रस्ताव गर्नु भएको थियो तर मैले स्वीकार गरिन ।’ पञ्किरण अधिकारी भिखारी राय यादवकाअनुसार मेयरलाई जोगाउनुपर्छ भन्दै उनका मान्छेहरु ४ पटकसम्म घरमै आएका थिए ।
‘अबेर राति वीरगंज महानगरपालिका भेडियारीस्थित मेरो घरमा पुगेर किर्ते कागजात आफँैले गरेको अदालत र अनुसन्धानको टोली समक्ष स्वीकार्न दवाव दिए रायले ।
उनकाअनुसार वडा अध्यक्ष बैजुलाल स्वर्णकारले झोलामा बोकेर ल्याएको एक कागज देखाउँदै हस्ताक्षर गरिदिन भनेका थिए । ‘मैले बैजुलाललाई भोली आउनुस् भनेर टार्न खोजेँ । भोलि बिहानै जसपाका जिल्ला समन्वय समितिका अध्यक्ष अजय सरार्फलाई लिएर आए । मैले उसको अगाडि मैले यसअघि नै बोलेको कुरा हो मेरो त्यो हस्ताक्षर हुन्न भने,’ उनी थप्छन्, ‘ त्यसपछि तिनीहरुले चिनजानको मान्छेहरुको सम्पर्क जोड्न थाले । त्यो गर्दाखेरी मैले केही हुन्न कानुनले जे भन्छ त्यो हुन्छ तपाईँहरु वकिलकहाँ जानुस् भनेँ । त्यसपछि मेरै अगाडि आएर मलाई भन्न थाल्यो सारा मिलान भईसकेको छ । केही राखेर विषय बन्द गरौँ ।’
पञ्जिकरण अधिकारी भिखारी रायले आफु कसैको प्रलोभनमा नपर्ने बताए । मेयरले खटाएका मान्छेले आफ्नो छोरीकै अगाडी हठ गर्न थालेपछि उनले समेत बुवालाई दबाब नदिनुस् प्रहरी बोलाउँछु भनेपछि उनीहरु भागेको रायको दावी छ ।
वीरगंज महानगरका मेयर राजेशमान सिंहले नागरिकता दिलाइदिएका युवती रुबिना श्रेष्ठको जन्म दर्तामा नै किर्ते रहेको माघ २८ गते तत्कालिन पञ्जिकरण अधिकारी भिखारी रायले बताएका थिए । किर्ते जोगाउन मेयर सिंहले रिता भट्टराई भन्ने महिलालाई दोस्रो श्रीमती बनाएर जिल्ला अदालत पर्सामा ‘पति’ नाता कायम भएको दाबी गर्दै माघ २८ गते विहान अंश र डिभोर्स मुद्दा दर्ता गराएकी थिईन् । दर्ता गराएको मुद्दामा पेश गरेको जन्मदर्ता प्रमाण पत्र स्थानीय पञ्जिकरण अधिकारी भिखारी रायको नामबाट जारी भएको देखिन्छ ।
तर, उक्त जन्मदर्ता प्रमाण पत्रमा राखिएको नाम तत्कालिन पञ्जीकरण अधिकारी भिखारी रायको भएको थाहा पाएपछि उनले जन्मदर्तामा प्रयोग भएको हस्ताक्षर र नाम किर्ते गरिएको भिडियो बयान नै दिएका थिए ।
मेयरको नागरिकता किर्ते प्रकरण छानबिनका लागि माघ २५ गते वीरगंज पुगेको गृह मन्त्रालयको टोलीलाई मेयर सिंहले आफूले बहुविवाह गरेको र नागरिकता दिलाइदिएको युवती आफ्नै छोरी भएको भन्दै बचाउमा बयान दिएका थिए । तर, उनले छोरी भन्दै रुबिनालाई दिलाएको जन्मदर्ता नै फर्जी र नक्कली भएको सो प्रमाण पत्र जारी गर्ने तत्कालिन पञ्जीकरण अधिकारीले नै बताएका छन् । सिंहले नक्कली कागजातमार्फत २०७१ कात्तिक २० गते तत्कालीन वीरगंज उपमहानगरपालिका कार्यालयबाट जन्म दर्ताको प्रमाण पत्र बनाएका थिए ।
किर्ते जन्म दर्ताको आधारमा मेयर सिंहले विद्यालयका कागजात, नागरिकता, पासपोर्ट लगायतका कागजात बनाएका छन् । किर्ते छानबिन गर्न वीरगंज पुगेको टोली उतिबेला किर्ते जन्मदर्ता बनाएको विषयमा अनुसन्धान नै नगरी फर्किएका थिए ।
सरकारी कागजात किर्तेको प्रमाण नष्ट गर्न प्रलोभन देखाइएकोबारे वीरगंजका मेयर राजेशमान सिंहसँग कुराकानी गरेको थियो । उनले उक्त आरोपको खण्डन गरे । आफूले त्यस्तो नगरेको भन्दै मेयर सिंहले जो मान्छेको नाम लिइएको छ, उसैसँग यसबारे बुझ्न आग्रह गरे ।
‘यो सबै गलत कुरा हो । तपाइँंलाई जसले यो कुरा गर्यो उसैसँग सोध्नुस्,’ मेयर सिंहले भने,‘म यस्तो विषय फोनमा कुरा गर्दिन भेटेरै कुरा गरौंँ ।’
प्रतिक्रिया दिनुहोस