काठमाडौं, फागुन ११ - पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस धादिङमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको ज्यान गएको छ भने घाइतेमध्ये २५ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। तीमध्ये एक जनाको उपचारकै क्रममा मृत्यु भएपछि मृतक संख्या १८ पुगेको हो।
ग२ख १४२१ नम्बरको पृथ्वी यातायात व्यवसायी समितिको बस आइतबार राति करिब १ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा नजिकै त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनास्थलमै १७ जनाको मृत्यु भएको थियो भने एक जनाले काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गुमाएका हुन्।
प्रहरीका अनुसार घाइतेमध्ये १५ जनालाई ट्रमा सेन्टर र १० जनालाई कलंकीस्थित नेशनल अस्पतालमा भर्ना गरिएको छ। ट्रमा सेन्टरमा उपचाररत एक अन्दाजी ३२ वर्षीय पुरुषको मृत्यु भएको छ भने अन्य १४ जनाको उपचार जारी छ। त्यहाँ उपचार भइरहेकामध्ये २२ वर्षीया चिनियाँ नागरिक मिसि हाउ, बौद्धकी ४८ वर्षीया एन्जी शेर्पा, तनहुँका ४५ वर्षीय सोमप्रसाद मल्ल, झापाका ३० वर्षीय बिपिन मानन्धर, गोकर्णकी २८ वर्षीया पूजा फुयाल, स्याङ्जाका २६ वर्षीय सचिन्द्र सुनार, लेखनाथका प्रदीप लामिछाने, बौद्धका नोर्बु पाल्देन, कपनकी शोर्णिमा खत्री, कास्कीकी १९ वर्षीया सलिना परियार, तनहुँका ४४ वर्षीय मानबहादुर थापा, बौद्धकी ४८ वर्षीया लंसाङ्गोले लामा, शुक्लागण्डकी–१२ की १९ वर्षीया सदिक्षा हमाल र झापाका ४० वर्षीय कृतिराज मानन्धर रहेका छन्।
यस्तै, नेशनल अस्पतालमा १० जना घाइतेको उपचार भइरहेको छ। त्यहाँ उपचाररतहरूमा सितापाइलाका ३३ वर्षीय राजेश कुँवर, तनहुँका १८ वर्षीय सुबिन मल्ल, लेखनाथकी ३५ वर्षीया प्रतिभा पौडेल, देविनगरका २३ वर्षीय चन्द्र आशीष फुँयाल, बालाजुका १९ वर्षीय संगम मल्ल, चिसुवाकी ३९ वर्षीया प्रमिला भट्टराई, फेदिखोला–४ का ६४ वर्षीय डम्मरबहादुर विक, कलंकीका २५ वर्षीय कृष्ण तिवारी, कास्की–३२ का २० वर्षीय सुनम गुरुङ र धुनिबेशीका ३६ वर्षीय राजेन्द्र बिसुन्के रहेका छन्।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ। घटनापछि उद्धार तथा राहत कार्य तीव्र बनाइएको थियो।
प्रतिक्रिया दिनुहोस