नेपाल र बंगलादेशबीच हुने साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलका लागि टिकट व्यवस्थापनमा अव्यवस्थाका कारण समर्थकहरू असन्तुष्ट भएका छन्। दशरथ रंगशालामा बुधबार साँझ साढे ६ बजे हुने फाइनल खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सुरूमा अनलाइनमार्फत टिकट बिक्री गरे पनि मंगलबार राति अचानक अनलाइन बिक्री बन्द गर्दै भौतिक रूपमा मात्र टिकट वितरणको निर्णय गरेको थियो।
एन्फाको निर्णयपछि बुधबार बिहान ३ बजेदेखि नै टिकट किन्न समर्थकहरू काठमाडौंको भद्रकाली र ललितपुरको जावलाखेलमा लामबद्ध देखिए। भद्रकाली काउन्टरमा टिकट छिटै सकिएपछि लामो समय पर्खिरहेका समर्थकहरूले एन्फाविरुद्ध नाराबाजी गरेका छन्।
नेपाल र भारतबीचको सेमिफाइनल खेलमा रंगशालाको १४ हजार क्षमताभन्दा बढी १८ हजार टिकट बिक्री भएको पुष्टि भएपछि एन्फाले माउन्ट एभरेस्ट प्रालिसँगको टिकट बिक्री सम्झौता रद्द गरेको थियो। ८० लाखमा टेन्डर पाएको प्रालिले क्षमताभन्दा धेरै टिकट बिक्री गरेको भन्दै एन्फाले भौतिक टिकट वितरणको निर्णय लिएको हो। यसअघि अनलाइनमार्फत ४१०० टिकट बिक्री भइसकेको थियो भने बाँकी ४९०० टिकट भौतिक रूपमा वितरण गरिँदै छ।
प्रतिक्रिया दिनुहोस