१८ असार २०८३ बिहिबार | 02 Jul 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कुवेतमा १० देखि १२ लाख रुपैयाँमा नेपाली महिला बिक्री भइरहेको आरोपपछि संसद्मा तरंग, तत्काल एक्सन लिन माग



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १२८
  • काठमाडौं, जेठ ४ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओली ले वैदेशिक रोजगारीका नाममा नेपाली महिलामाथि भइरहेको मानव तस्करी रोक्न सरकारसँग कडा कदम चाल्न माग गरेकी छन्।

    सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले कुवेत लगायत खाडी मुलुकहरूमा नेपाली महिलाहरूलाई १० देखि १२ लाख रुपैयाँसम्ममा बेच्ने गिरोह सक्रिय रहेको दाबी गरिन्। यस्ता गिरोहलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने उनको भनाइ थियो।

    उनले सरकारले घरेलु कामदारका रूपमा महिलालाई विदेश पठाउन प्रतिबन्ध लगाए पनि मानव तस्करी भने नरोकिएको बताइन्। प्रतिबन्धपछि पनि एजेन्टहरूले विभिन्न अवैध बाटो प्रयोग गरेर नेपाली महिलालाई खाडी मुलुक पुर्‍याउने काम जारी राखेको उनले उल्लेख गरिन्।

    प्रमुख सचेतक ओलीका अनुसार केही महिलालाई भारत हुँदै सीमा पार गराइने गरिएको छ भने कतिपयलाई तान्जानिया लगायत अफ्रिकी मुलुकमा ट्रान्जिट बनाएर विदेश पठाइने गरिएको छ। यस्ता नेटवर्कमा नेपाली एजेन्ट नै संलग्न रहेको भन्दै उनले सरकारलाई कडा निगरानी गर्न आग्रह गरिन्।

    संसद्मा बोल्दै उनले कुवेतमा अलपत्र परेकी शर्मिला दर्जीको तत्काल खोजी तथा उद्धार गर्न पनि सरकारको ध्यानाकर्षण गराइन्। उनले यो एउटा प्रतिनिधि घटना मात्रै भएको उल्लेख गर्दै यस्ता पीडामा परेका हजारौँ नेपाली महिला रहेको दाबी गरिन्।

    वैदेशिक रोजगारीको नाममा भइरहेको ठगी, बेचबिखन र शोषणप्रति सरकार गम्भीर बन्नुपर्ने उनले बताइन्। पीडित नेपाली नागरिकको उद्धारमा ढिलाइ नगर्न र मानव तस्करीमा संलग्न गिरोहमाथि कडा कारबाही गर्न उनले सरकारसँग माग गरिन्।