७ जेठ २०८३ बिहिबार | 21 May 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

संसदीय सुनुवाइबाट डा. मनोजकुमार शर्मा सर्वसम्मत अनुमोदित



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या २७
  • काठमाडौँ, जेठ ५ - संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । मंगलबार बसेको समितिको बैठकले संसदीय सुनुवाइ प्रक्रिया टुंग्याउँदै शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि अनुमोदन गरेको हो ।

    समिति सभापति बोधराजनारायण श्रेष्ठका अनुसार संसदीय सुनुवाइ समिति कार्यसञ्चालन नियमावली २०८० अनुसार शर्माको नाम सर्वसम्मत रूपमा पारित गरिएको हो । अब राष्ट्रपतिबाट शपथ लिएपछि उनले सर्वोच्च अदालतको नेतृत्व सम्हाल्नेछन् ।

    यसअघि वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइबाट अनुमोदन भएसँगै उनको नियुक्तिको संवैधानिक प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

    डा. शर्माले प्रधानन्यायाधीशका रूपमा आगामी ६ वर्ष सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् । उनको कार्यकाल २०८९ वैशाखसम्म रहने बताइएको छ ।

    वि.सं. २०७६ वैशाख ६ गते सर्वोच्च अदालतमा प्रवेश गरेका शर्मा पर्साको वीरगञ्ज निवासी हुन् । उनले नेपाल ल क्याम्पसबाट बीएल तथा भारतको पुणे विश्वविद्यालयबाट एलएलएम गरेका छन् । साथै, त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुन विषयमा विद्यावारिधि हासिल गरेका छन् ।

    कानुन व्यवसायी पृष्ठभूमिबाट आएका शर्माले विभिन्न संस्था र कम्पनीहरूमा कानुनी सल्लाहकारका रूपमा काम गरेका थिए । उनी २०७० जेठ २७ देखि २०७२ मंसिर २६ सम्म उच्च अदालतमा अतिरिक्त न्यायाधीशका रूपमा पनि कार्यरत रहेका थिए ।

    शर्माको कार्यकालमा सर्वोच्च अदालतका ११ जना न्यायाधीश अवकाश हुनेछन् । न्यायालयभित्र देखिएका विकृति हटाउने, न्याय सम्पादनलाई प्रभावकारी बनाउने तथा वरिष्ठ न्यायाधीशहरूसँग समन्वय कायम राख्ने चुनौती उनको काँधमा रहने विश्लेषण गरिएको छ ।