नेपाली कांग्रेसले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा आवश्यक समन्वय र सहजीकरणका लागि १० जना नेताहरूलाई जिम्मेवारी तोकेको छ। महासचिव विश्वप्रकाश शर्मा नेतृत्वको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले यी नेताहरूलाई प्रदेश, जिल्ला, र स्थानीय कार्यसमितिसँग समन्वय र सहजीकरण गर्न निर्देशन दिएको छ।
यस अन्तर्गत, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ बागमती प्रदेशका लागि, सहमहामन्त्री भीष्मराज आङ्दम्बे कोशी प्रदेशका लागि, सहमहामन्त्री महेन्द्र यादव मधेस प्रदेशका लागि, सहमहामन्त्री जीवन परियार कर्णाली र गण्डकी प्रदेशका लागि, तथा केन्द्रीय सदस्य एनपी साउद सुदूरपश्चिम प्रदेशका लागि समन्वयको जिम्मामा छन्। प्रवक्ता प्रकाशशरण महत अन्तर पार्टी समन्वय गर्ने छन् भने केन्द्रीय सदस्य पुष्पा भुसालले लुम्बिनी प्रदेश र निर्वाचन आयोग समन्वयको जिम्मेवारी पाएकी छन्।
यसका साथै, प्रचार प्रसार संयोजनको जिम्मा केन्द्रीय सदस्य मीन विश्वकर्मालाई, स्थानीय तह समन्वयको जिम्मा केन्द्रीय सदस्य मधु आचार्यलाई, र सचिवालय व्यवस्थापनको जिम्मा केन्द्रीय सदस्य नानु बास्तोलालाई दिइएको छ।
कांग्रेसले यस उपनिर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ। मंसिर १६ गतेको उपनिर्वाचनमा कुल ४४ पद, जसमा २ जिल्ला समन्वय समितिका प्रमुख, २ गाउँपालिका अध्यक्ष, ४ उपाध्यक्ष, १ नगरपालिका प्रमुख, १ उपप्रमुख र ३४ वडाध्यक्ष समावेश छन्।
प्रतिक्रिया दिनुहोस