९ पुष २०८१ मंगलबार | 24 Dec 2024 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौं महानगरपालिकाले चार महिनामा कुल बजेटको १३ प्रतिशत मात्र खर्च

चालु आर्थिक वर्षको पहिलो चार महिनामा काठमाडौं महानगरपालिकाले आफ्नो कुल बजेटको १३ प्रतिशत मात्र खर्च गरेको छ।



Kathmandu Metropolitan City
  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या ६१
  • चालु आर्थिक वर्षको पहिलो चार महिनामा काठमाडौं महानगरपालिकाले आफ्नो कुल बजेटको १३ प्रतिशत मात्र खर्च गरेको छ। कुल २५ अर्ब ७० करोड रुपैयाँको बजेटमध्ये हालसम्म २ अर्ब ७० करोड रुपैयाँ मात्र खर्च भएको छ। यसमा गौरवका योजना र स्वर्णिम योजनाहरूका लागि छुट्याइएको बजेट पनि समावेश छ।

    महानगरले आर्थिक विकास, सामाजिक विकास, र पूर्वाधार विकासजस्ता प्राथमिक क्षेत्रमा न्यून प्रगति देखाएको छ। आर्थिक विकासतर्फ ७३ करोड बजेटमध्ये १५.२८ प्रतिशत मात्र खर्च भएको छ भने पूर्वाधार विकासतर्फ ७ अर्ब ६२ करोडमध्ये १०.३१ प्रतिशत खर्च भएको छ।

    महानगरले चालु आवमा १२ अर्ब ९० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्म २४.५४ प्रतिशत अर्थात् ३ अर्ब १६ करोड रुपैयाँ मात्र संकलन गरेको छ। घरबहाल करबाट ९४ करोड र सम्पत्ति करबाट ५० करोड रुपैयाँ संकलन भए पनि बाँडफाँट राजस्व लक्ष्यको १८.४८ प्रतिशतमा सीमित छ।

    गत आर्थिक वर्षमा महानगरले ५१ प्रतिशत बजेट खर्च गर्दै पाँच वर्षकै उच्च वित्तीय प्रगति हासिल गरेको थियो। तर, चालु वर्षमा योजनाहरूमा ढिलासुस्ती र कार्यान्वयनको कमी देखिएको महानगरका अधिकारीहरूले स्वीकार गरेका छन्।

    महानगरका वित्त विभागका अनुसार क्रमागत योजनाहरूको अन्तिममा हुने खर्चले समग्र प्रगति दर सुधार गर्ने विश्वास गरिएको छ। तर, विश्लेषकहरूले बजेट कार्यान्वयन प्रक्रियामा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

    महानगरले भौतिक प्रगतितर्फ ५५ किलोमिटर सडक कालोपत्रे, १२ किलोमिटर ढल निर्माण, १६ वटा भवन निर्माण, र ९ वटा पार्क निर्माण गरेको प्रतिवेदनमा उल्लेख छ। तर, कुल बजेटको कम खर्च र न्यून आम्दानीले काठमाडौं महानगरपालिकाको वित्तीय व्यवस्थापनमा प्रश्न चिन्ह उठाएको छ।