१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणमा कार्यकक्ष बनाउने

यसअघि, प्राधिकरणमा मन्त्रीका लागि कुनै कार्यकक्ष थिएन, र मातहतका कार्यालयका कार्यकक्ष बनाउने परिपाटी पनि प्रचलनमा थिएन।



Deepak Khadka
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या १०३
  • ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा आफ्नो कार्यकक्ष निर्माण गर्न थालेका छन्। मंगलबार ऊर्जा मन्त्रालयका कर्मचारीहरूले प्राधिकरणको कार्यकक्षको निरीक्षण गरेपछि मन्त्रीको कार्यकक्ष निर्माण कार्य शुरु गरिएको हो।

    यसअघि, प्राधिकरणमा मन्त्रीका लागि कुनै कार्यकक्ष थिएन, र मातहतका कार्यालयका कार्यकक्ष बनाउने परिपाटी पनि प्रचलनमा थिएन। प्राधिकरणको ४० वर्षे इतिहासमा यो पहिलो पटक हो, जब कुनै मन्त्रीले आफैं कार्यकक्ष बनाउने कदम चालेका छन्।

    मन्त्री खड्काले कार्यकक्ष निर्माण गरिरहेको बेला प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ माथिल्लो तामाकोसीको मर्मतसम्भारको कामका लागि बाहिर गएका छन्। प्राधिकरण प्रमुखको अनुपस्थितिमा मन्त्रालयका कर्मचारीहरूले मन्त्रीको कार्यकक्ष तयार गर्न थालेका हुन्।

    प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष ऊर्जामन्त्री नै हुने हुँदा मन्त्रीको कार्यकक्ष आवश्यक ठानेमा प्राधिकरणले बनाउने परिपाटी रहेको छ। यद्यपि, स्रोतका अनुसार, यो कदम प्राधिकरण प्रमुख घिसिङलाई अप्ठ्यारो पार्न र उहाँको कार्यमा अवरोध सिर्जना गर्नका लागि गरिएको हो भन्ने आशंका व्यक्त गरिएको छ।

    यसैबीच, डेडिकेटेड र ट्रंकलाइन महसुल उठाउने विषयमा प्राधिकरण र मन्त्रालय बीच अझै सहमति जुट्न सकेको छैन, जसले मन्त्री र कार्यकारी निर्देशक घिसिङ बीच तनावलाई बढाएको छ। प्राधिकरणको नेतृत्व बक्यौता उठाउने पक्षमा रहेको छ भने, मन्त्रालयले यसका लागि समिति गठन गरेर प्राधिकरणलाई थप समस्यामा पार्न थालेको छ।

    यसअघि, ऊर्जामन्त्रीले कार्यकारी निर्देशक घिसिङको कामलाई ब्यालेन्स गर्न ऊर्जा विज्ञका रूपमा प्रभावशाली अधिकारीलाई मन्त्रालयमा ल्याएका थिए।