
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालैको चीन भ्रमणका क्रममा ऋणसम्बन्धी कुनै छलफल नभएको बताएका छन्।
बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले चीनसँगको बिआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) परियोजना ऋणसम्बन्धी नभएको स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले भने, “अहिले हामीले जे प्राप्त गरेका छौं, त्यो ऋण होइन। यसबारे धेरै पटक भनिसकेका छौं, दोहोर्याउन जरुरी छैन। बिआरआई अन्तर्गतका परियोजनाबारे पछि छुट्टाछुट्टै सम्झौता हुनेछन्।”
उनले भ्रमणका क्रममा कुनै पनि विषयमा ऋणको कुरा नउठेको दाबी गर्दै थपे, “सधैं ऋणको कुरा गरेर हल्ला किन चलिरहेको छ? ऋणको कुनै सरोकार छैन। परियोजनाहरूको कार्यान्वयनका लागि फरक सम्झौता गरिनेछ।”
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा दुई देशबीचका विभिन्न आर्थिक तथा विकास सम्बन्धी सहकार्यका विषयमा छलफल भएको थियो। तर, उनले बिआरआई परियोजनाहरूलाई ऋणसँग जोडेर प्रस्तुत गर्नु अनुचित भएको बताए।
प्रतिक्रिया दिनुहोस