नेकपा (एमाले)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरूङबाट दानमा लिएको जग्गाविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। मङ्गलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासमा रिट पेशीमा परेको हो।
यसअघि आइतबार र मंसिर १८ गतेसमेत उक्त मुद्दा हेर्न नभ्याइने सूचीमा परेको थियो। कात्तिक १२ गते सुनिलकुमार पोखरेलको इजलासले जग्गाको हक हस्तान्तरण रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
अधिवक्ता ज्ञानबहादुर बस्नेतले भ्रष्टाचार र सरकारी कागजात कीर्ते आरोप लागेका व्यापारी गुरूङबाट चन्दास्वरूप जग्गा लिने एमालेको निर्णय कानुन र नैतिकता विपरीत भएको जिकिर गर्दै रिट दिएका हुन्।
गुरूङ र एमाले पार्टी कार्यालयलाई विपक्षी बनाइएको रिटमा, चन्दा र दान पारदर्शी बनाउन परमादेश दिन माग गरिएको छ। भाटभटेनीका सञ्चालक गुरूङ दम्पतीले दान गरेको १० रोपनी १४ आना जग्गामा पार्टी कार्यालय भवन निर्माण हुँदैछ।
प्रतिक्रिया दिनुहोस