काठमाडौँ, भदौ ११ - श्रम संस्कृति पार्टीका नेता ध्रुवराज राईले भोटेकोसी बाढीबाट सिर्जित राष्ट्रिय विपत्तिको सामना गर्न सरकार र राजनीतिक दलहरू एकजुट भएर अघि बढिरहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिहीबार आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राईले विपद्को समयमा राजनीतिक मतभेदभन्दा उद्धार, राहत र पीडितको सहयोगलाई प्राथमिकता दिनुपर्ने बताए।
सरकारले राहत वितरणका लागि घोषणा गरेको एकद्वार प्रणालीअनुसार नै आफ्नो पार्टी अघि बढ्न तयार रहेको उनले बताए। पार्टीका समर्थक तथा शुभचिन्तकबाट प्राप्त राहतसमेत सरकारको राहत कोषमा जम्मा गर्ने र वितरण प्रक्रियालाई पारदर्शी बनाउन सहयोग गर्ने उनको भनाइ थियो।
राईले राहत तथा सहयोगका नाममा आर्थिक अनियमितता हुन नदिने प्रतिबद्धता जनाउँदै सरकारी निगरानीमा पारदर्शी ढङ्गबाट काम गर्नुपर्ने बताए। उनका अनुसार विपद्का बेला प्राप्त हुने सहयोग सही व्यक्तिसम्म पुर्याउन सरकार र सबै राजनीतिक दलबीच समन्वय आवश्यक छ।
यसैबीच, बाढी प्रभावित क्षेत्रमा पीडितका सामान उठाउने तथा मृतकका शरीरबाट गरगहना निकाल्नेजस्ता अमानवीय गतिविधिका दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको भन्दै राईले आपत्ति जनाएका छन्। उनले यस्ता गतिविधि तत्काल नियन्त्रण गर्न र विपद्को समयमा मानवीय संवेदनशीलता कायम राख्न सरकारसँग आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस