चितवन – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
मंगलबार चितवनको भरतपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो चेतावनी दिएका हुन्।
सभामा अध्यक्ष प्रचण्डले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा काम गरिरहेको आरोप लगाउँदै यस्ता गतिविधि तत्काल रोक्नुपर्ने बताए। उनले भने, “यदि सरकार यसरी नै अघि बढ्यो भने हामी संसद्को विशेष अधिवेशन बोलाउनेछौँ र लाखौँ जनता सडकमा उतारेर आन्दोलन गर्नेछौँ।”
उनले राम्रो हुँदै गएको विद्युत् प्राधिकरण र सुधारको बाटोमा अघि बढिरहेको त्रिभुवन विश्वविद्यालयजस्ता संस्थामाथि सरकारको प्रहार भएको उल्लेख गर्दै यस्ता गतिविधि अराजकता निम्त्याउन खोज्ने बताए।
प्रचण्डले आफ्नो प्रधानमन्त्रीत्वकालमा रुग्ण उद्योगहरू सञ्चालनको तयारी भए पनि अहिलेको सरकारले सार्वजनिक उद्योग बिक्री गर्न खोजेकोमा आपत्ति जनाए। उनले यस्तो कदम जनताका लागि स्वीकार्य नहुने बताए।
उनले सहकारी क्षेत्रको संकटप्रति पनि सरकारको भूमिका असफल रहेको टिप्पणी गरे। “देशभरका हजारौँ सहकारीहरूको पैसा अपचलनमा कांग्रेस र एमालेका नेताहरूको बाहुल्यता छ,” उनले भने। यस्तै, रवि लामिछानेप्रति पूर्वाग्रह राख्दै सरकार प्रतिशोधको राजनीतिमा लागेको उनको आरोप छ।
प्रचण्डले थपे, “सरकारको नेतृत्व गर्ने दलका नेताहरू सहकारी ठगीमा संलग्न छन्। उनीहरूलाई जोगाउनकै लागि रविलाई दोषारोपण गरिएको छ। यस्तो रवैया स्वीकार्य छैन।”
अध्यक्ष प्रचण्डले सरकारलाई सचेत रहन आग्रह गर्दै आन्दोलनको तयारीमा रहन कार्यकर्तालाई निर्देशन दिएका छन्।
प्रतिक्रिया दिनुहोस