१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सहरी क्षेत्रमा कमजोर प्रदर्शन, नेकपा (एमाले) गम्भीर

बैठकमा महासचिवले काठमाडौं महानगरपालिका–१६ र कीर्तिपुर नगरपालिकासहित केही स्थानमा पार्टीले अपेक्षा अनुसार परिणाम ल्याउन नसकेको जनाउँदै पार्टी पंक्ति गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए।



  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या १२०
  • काठमाडौं – नेकपा (एमाले)ले हालै सम्पन्न उपनिर्वाचनको समीक्षा गर्दै प्रदेश र जिल्ला कमिटीहरूसँग विस्तृत प्रतिवेदन मागेको छ।

    मंगलबार पार्टी कार्यालयमा बसेको ४१ औं सचिवालय बैठकले उपनिर्वाचनका नतिजा विश्लेषण गर्दै मातहतका कमिटीलाई प्रतिवेदन बुझाउन निर्देशन दिएको हो। बैठकमा महासचिव शंकर पोखरेलले उपनिर्वाचनको प्रारम्भिक समीक्षा प्रस्तुत गर्दै काठमाडौं महानगरपालिका–१६ र कीर्तिपुर नगरपालिकासहित केही स्थानमा पार्टीले अपेक्षाअनुसार परिणाम ल्याउन नसकेको जनाए। उनले पार्टी पंक्ति गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याउँदै सहरी क्षेत्रमा एमालेको समर्थन कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे।

    उपमहासचिव प्रदीप ज्ञवालीले पनि सहरी जनमतले एमालेलाई पाखा लगाउँदै गएको र मतदाताहरूले आफ्नो मतदान शैली परिवर्तन गरेको तर्क गरे। जनप्रतिनिधिहरूले जनताको विश्वास जित्न अझै प्रभावकारी ढंगले काम गर्नुपर्ने उनको भनाइ थियो। बैठकमा कीर्तिपुर र काठमाडौं–१६ मा जित सुनिश्चित भएको भनी गरिएको गलत रिपोर्टिङप्रति पनि आलोचना भयो। जिल्लाका कमिटीहरूले मतदाताको मनोविज्ञान, संगठनको स्थिति, र जनप्रतिनिधिको भूमिकाबारे स्पष्ट नबुझी गलत जानकारी दिएका कारण पराजय भोग्नुपरेको निष्कर्ष निकालिएको छ।

    एमालेले यस उपनिर्वाचनमा सात वटामध्ये केवल दैलेखको दुल्लु–१३ को वडाध्यक्षको पद मात्र जोगाउन सकेको छ। अन्य स्थानहरूमा पार्टीले अपेक्षाकृत प्रदर्शन गर्न सकेन। दैलेख, बाजुरा, र दोलखाका केही पद जित्न सफल भए पनि काठमाडौं र कीर्तिपुरका महत्त्वपूर्ण स्थानमा पराजित भएको छ। अब प्रदेशस्तरबाट विस्तृत प्रतिवेदन तयार गरी केन्द्रमा बुझाउने तयारी भइरहेको छ। उपनिर्वाचनको नतिजाले पार्टीको संगठनात्मक स्थितिमा कमजोरी रहेको देखाएको नेताहरूको धारणा छ।