चितवन — गृहमन्त्री रमेश लेखकले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगी मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि गरेको पछिल्लो टिप्पणी दुर्भाग्यपूर्ण भएको बताएका छन्।
नेपाल प्रेस युनियनले चितवनको भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले प्रचण्डको टिप्पणी अदालत र देशको कानुनलाई प्रभावित पार्ने खालको भएको बताए। सरकारले कसैमाथि पनि प्रतिशोधपूर्ण व्यवहार नगरेको दाबी गर्दै उनले कानुनले तोकेको समयसीमाभन्दा बढी कसैलाई थुनामा नराखेको र अदालतले दिएको समयभित्र अनुसन्धान गरी मुद्दा पेस गरिएको बताए।
प्रचण्डले केही समयअघि सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका थिए। सो टिप्पणीलाई गृहमन्त्री लेखकले न्यायिक प्रक्रिया र अनुसन्धानलाई अवरोध गर्ने प्रयत्नका रूपमा अर्थाएका छन्।
गृहमन्त्री लेखकले लामिछानेमाथि अमानवीय व्यवहार गरिएको भनाइ असत्य भएको स्पष्ट पारे। उनले भने, “२ कात्तिकमा पक्राउ पर्दा उहाँ आफैंले राति पोखरा जान्छु भन्नुभयो। प्रहरीले जहाजमा लैजाने प्रस्ताव राख्दा उहाँले मान्नुभएन। चितवनबाट पोखरा जाँदा अमानवीय व्यवहार भएको भन्ने कुनै आधार छैन।” उनले प्रहरी प्रशासनले मानव अधिकारप्रति संवेदनशील रहेको र सबै नागरिकलाई समान व्यवहार गरिने दाबी गरे।
सहकारी ठगी मुद्दामा संलग्न भएका, फरार रहेका, र विदेश भागेकाहरूलाई सरकारले धमाधम पक्राउ गरिरहेको बताउँदै गृहमन्त्री लेखकले पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान भइरहेको जानकारी दिए। उनले सहकारी ठगीका मुख्य आरोपी जीबी राईलाई नेपाल ल्याउन सरकार प्रयासरत रहेको तर उनी कुन देशमा लुकेका छन् भन्ने खुलाउन अस्वीकार गरे।
सहकारी पीडितहरूको बचत रकम फिर्ताका लागि सरकारले ठोस योजना बनाइरहेको र चाँडै नै सार्वजनिक गर्ने पनि गृहमन्त्री लेखकले बताए।
संविधान संशोधनको विषयमा गृहमन्त्रीले सबै दलको सहमतिमा संविधान संशोधन प्रस्ताव तयार गर्न सरकार काम गरिरहेको जानकारी दिए। उनले संविधान कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्न सबै दलको समर्थनमा संशोधन हुने बताए। साथै, हालको सत्ता गठबन्धन निर्वाचनसम्म टिक्ने दाबी पनि गरे।
प्रतिक्रिया दिनुहोस