काठमाडौं, वैशाख १ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नयाँ वर्ष २०८२ को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमा–बुबा र प्रिय कमरेडहरूलाई नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन्।
नयाँ वर्षको सुरुवातसँगै शुभकामना सन्देश दिँदै महासचिव विप्लवले २०८२ साल सबै नेपालीको जीवनमा रचनात्मकता, सिर्जनशीलता, आशा, जोश र नयाँ ऊर्जा लिएर आओस् भन्ने कामना व्यक्त गरेका छन्।
उनले बितेको वर्ष २०८१ ले केही उपलब्धि, खुसी, विश्वास र शिक्षा दिएको उल्लेख गर्दै केही हदसम्म क्षति, पीडा र आशंका पनि थपेको बताएका छन्। विप्लवले नयाँ वर्षले नयाँ सोच, विचार, सक्रियता र आत्मविश्वासको विकास गर्ने विश्वास व्यक्त गरे।
सन्देशमा उनले २०८१ सालमा राजनीतिक स्थिरताका लागि अग्रगामी रूपान्तरण र नेपाली विशेषताको समाजवादबारे केही नयाँ छलफल र सहकार्य भएको उल्लेख गरेका छन्। साथै, देशभित्र केही गर्ने भावना बढेको, राष्ट्रिय जनसंस्कृतिप्रति जनचेतना वृद्धि भएको र शिक्षा, स्वास्थ्य तथा रोजगारीको सवालमा बहसहरू अघि बढेको बताएका छन्। उनले श्रम, संघर्ष र अनुसन्धानबाट देश निर्माण सम्भव छ भन्ने शिक्षा २०८१ सालले दिएको पनि बताए।
तर, उनले दलाल पुँजीवादी सत्ताले लादेको अस्थिरता, सरकार बनाउने र ढाल्ने खेल, भ्रष्टाचार, विदेशी हस्तक्षेप, राष्ट्रिय आत्मसमर्पण र प्रतिगमनकारी अराजकताका कारण देशले पीडा भोग्नुपरेको उल्लेख गरे। उनले आर्थिक संकट कायमै रहेको, सांस्कृतिक क्षेत्रमा हस्तक्षेप बढेको र जनजीवन बेचैनी तथा निराशाले ग्रसित रहेको बताए।
महासचिव विप्लवले २०८२ सालले यी सबै चुनौतीको सामना गर्दै सकारात्मक परिवर्तनको प्रेरणा दिने आशा व्यक्त गरेका छन्।
उनको शुभकामना सन्देशमा नयाँ वर्षलाई अग्रगामी निकासको संकल्प बोकेको ऐतिहासिक अवसरको रूपमा उपयोग गर्न सबै नेपालीलाई आह्वान गरिएको छ।
प्रतिक्रिया दिनुहोस