काठमाडौं, वैशाख २ - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयनकक्षसम्म पुग्ने गरेको खुलासा गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्र र बिचौलिया अलग कुरा भएको उल्लेख गरे। अहिले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या बिचौलियाको कारण आएको उनको भनाइ थियो।
"पहिला राष्ट्र बैंकको गभर्नर कसलाई बनाउने भन्नेमा कौतुहलता रहन्थ्यो, अहिले भने बिचौलियाको क्यान्डिडेट भनेर खुलेआम बहस हुने अवस्था आएको छ," थापाले भने।
उनले वर्तमान सरकारको प्रदर्शनमा सुधार ल्याउन नेपाली कांग्रेस गम्भीर रहेको पनि बताए। "हामी फोहोर सफा गर्न पोखरीमा पसेका हौं, कहिले काहीँ बाहिरबाट हेर्दा फोहोर देखिए पनि हामी सफा गर्नकै लागि गएका हौं," थापाको भनाइ थियो।
महामन्त्री थापाले सरकारभित्र कांग्रेसको भूमिकालाई प्रभावकारी बनाउन आफूले प्रयास गरिरहेको पनि स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस