२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

माओवादीको बृहत् सभापछि राजावादी आन्दोलन ओझेलमा परेको महासचिव देव गुरुङको दाबी

देव गुरुङले माओवादीको बृहत् सभापछि राजावादी आन्दोलन ओझेलमा परेको दाबी गरेका छन्।



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १३५
  • पोखरा, वैशाख १९ – नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले माओवादीको बृहत् सभापछि राजावादी आन्दोलन ओझेलमा परेको दाबी गरेका छन्।

    शुक्रबार पोखरामा प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले माओवादीले गत चैत १५ गते गणतन्त्रको पक्षमा झण्डै एक लाख नागरिक उतारेको जनाउँदै त्यसपछि राजावादीहरुको गतिविधि मन्द भएको बताएका हुन्।

    “हामी प्रतिपक्षमा भए पनि प्रतिगमन र यथास्थितिविरुद्ध खबरदारी गर्नुपर्छ भनेर बृहत् सभा गर्यौं,” गुरुङले भने, “झण्डै लाखको सहभागितासहित शानदार सभा गरेपछि दरवारवादीहरुले संविधानविरोधी रूपमा चलाइरहेको अभियान ओझेलमा पर्‍यो।”

    महासचिव गुरुङले वर्तमान अवस्थामा राजावादीहरुले प्रभावशाली रूपमा अगाडि बढ्न नसक्ने अवस्था रहेको दाबी गरे। यद्यपि, उनले वर्तमान सरकारको कमजोरीका कारण भविष्यमा गणतन्त्रविरोधी स्वर फेरि उठ्न सक्ने चेतावनी पनि दिए।

    उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा न्यायिक छानविन आवश्यक रहेको बताए। “नीतिगत छानविनले केही संकेत गरेको छ। अब न्यायिक प्रकृतिको छानविन गर्नुपर्छ। भ्रष्टाचारमा संलग्न व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ,” उनले भने।

    सरकार पूर्ण रूपमा असफल भइसकेको आरोप लगाउँदै गुरुङले राजीनामा दिनुको विकल्प नभएको बताए। उनले माओवादीले प्रतिपक्षको रूपमा सरकारलाई रचनात्मक सुझाव दिइरहेको पनि स्पष्ट पारे।