काठमाडौँ, कात्तिक २६ — नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेकका सबै नेता र कार्यकर्ताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन्।
बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँग भएको सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले एमाले अध्यक्ष ओलीको अभिव्यक्तिलाई “हावादारी” भन्दै कटाक्ष गरे।
उनले भने, “१२ वटा समूहहरू अहिले एउटै प्लेटफर्ममा आएका छन्। केपी ओलीले हावा कुरा गर्छन्, ओलीबाहेकका सबै एमाले नेता हाम्रो पार्टीमा आइपुग्छन्।”
प्रचण्डले हालसम्म १२ वटा राजनीतिक दल र समूहहरू नेपाली कम्युनिष्ट पार्टीमा समाहित भइसकेको बताए। उनका अनुसार, बाम शक्तिहरूबीचको एकता देशको राजनीतिक स्थायित्व र रुपान्तरणको लागि महत्वपूर्ण कदम हो।
गत कात्तिक १९ गते नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दल र समूहहरू एकीकृत भई ‘नेपाली कम्युनिष्ट पार्टी’ गठन गरिएको थियो। यस एकीकरणपछि प्रचण्डले बाम आन्दोलनलाई सशक्त बनाउने अभियानलाई तीव्रता दिइरहेका छन्।
प्रतिक्रिया दिनुहोस