काठमाडौं, कार्तिक २५ - नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणा देउवामाथि भएको आक्रमणलाई लोकतान्त्रिक मूल्य–मान्यतामै प्रहार भएको टिप्पणी गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकमा उनले जेनजी आन्दोलनका क्रममा भएको आक्रमण “नेतृ–नेतृत्वमाथि मात्र नभई सम्पूर्ण लोकतान्त्रिक प्रणाली र सभ्य समाजमाथिको प्रत्यक्ष आक्रमण” भएको बताएका हुन्।
कार्कीले दोषीहरुलाई कडा कानुनी दण्ड दिन सरकारसमक्ष माग गर्दै देशभर भएको तोडफोड, आगजनी, लुटपाट तथा विभिन्न संवैधानिक निकाय, पार्टी कार्यालय, नेताहरूका निवास र व्यवसायिक प्रतिष्ठानमा भएका घटनालाई “सुनियोजित र योजनाबद्ध” भन्दै चिन्ता व्यक्त गरे।
उनका अनुसार शीतलनिवासदेखि सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, राजनीतिक दलका कार्यालय र निजी निवासहरूसम्म भएका क्षतिलाई स्वस्फूर्त घटना मान्न नसकिने र दण्डहीनता बढ्दै जाँदा राज्य अस्थिरतामा धकेलिने चेतावनी दिए।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवक र सुरक्षाकर्मीप्रति उनले श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको उपचार र व्यवस्थापनका लागि तत्काल पहल गर्न सरकारलाई आग्रह गरे।
प्रतिक्रिया दिनुहोस