काठमाडौं, वैशाख २४ - नेकपा (एकीकृत समाजवादी)ले सुशासन र रोजगारीको मागमा सरकारलाई दबाब दिन दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरेको छ।
मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले आन्दोलनको दोस्रो चरणका कार्यक्रमहरू केन्द्रीय कार्यालयमार्फत तयार गरी छिट्टै सार्वजनिक गर्ने निर्णय गरेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसद्मा छलफल भइरहेका सरकारका नीति तथा कार्यक्रम, दोस्रो चरणको आन्दोलनका कार्ययोजना, र पार्टीको संगठनात्मक रणनीतिबारे विस्तृत छलफल भएको ज्वालाले बताए।
उनका अनुसार, पहिलो चरणको आन्दोलन सफल रहेको निष्कर्ष पार्टीले निकालेको छ। "पहिलो चरणको आन्दोलन वामअर्प थियो," ज्वालाले भने, "अब जनसहभागिता सुनिश्चित गर्दै आन्दोलनको स्वरूप परिवर्तन गरी अघि बढ्छौं।"
ज्वालाले आन्दोलनले कार्यकर्तामा उत्साह र गति थपेको भन्दै सुशासन र रोजगारीका एजेन्डा कार्यान्वयन गराउन थप सशक्त दबाब कार्यक्रम ल्याइने बताए।
"हामीले अघि सारेका माग कार्यान्वयनका लागि धर्ना, जुलुस र जनपरिचालनजस्ता जनसहभागितामूलक कार्यक्रम ल्याउनेछौं," उपाध्यक्ष ज्वालाले स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस