६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

वडाध्यक्ष देवकृष्ण पराजुलीको हातपातपछि पोखरा महानगरमा कर्मचारी आन्दोलन, सेवा ठप्प

पराजुलीले प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पोखरेलमाथि हातपात गरेपछि महानगरपालिकाका कर्मचारीहरूले आन्दोलन सुरु गरेका छन्।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १२८
  • पोखरा, वैशाख २४ — पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पोखरेलमाथि हातपात गरेपछि महानगरपालिकाका कर्मचारीहरूले आन्दोलन सुरु गरेका छन्।

    मंगलबार प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै पुगेका वडाध्यक्ष पराजुलीले पोखरेलमाथि अपशब्द प्रयोग गर्दै हातपात गरेका थिए भन्ने आरोप छ। तालिममा कर्मचारी पठाउने विषयमा सल्लाह नगरेको भन्दै वडाध्यक्ष आक्रोशित बनेका थिए र दुर्व्यवहार गरेका पोखरेलले बताएका छन्।

    प्रशासकीय अधिकृत पोखरेलले वडाध्यक्ष पराजुलीले मादक पदार्थ सेवन गरेको अवस्थामा दुर्व्यवहार गरेको दाबी समेत गरेका छन्।

    उक्त घटनापछि स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।

    तर घटना भएको २४ घण्टासम्म पनि कुनै एक्सन नलिइएको भन्दै महानगरपालिकाका कर्मचारीहरूले पेन डाउन गर्दै आन्दोलनमा उत्रिएका हुन्।

    अल्टिमेटमको समयसीमा सकिएपछि बुधबारदेखि कर्मचारीहरू कार्यालय छोडेर निस्किएको महानगरले जनाएको छ। कर्मचारीहरूले सुरक्षाको ग्यारेन्टी नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारेका छन्।

    महानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले दुवै पक्षलाई छलफलका लागि बिहीबार बिहान बैठकमा बोलाइएको जानकारी दिएका छन्।

    सोही दिन वडाध्यक्ष देवकृष्ण पराजुलीले फुटपाथमा सामान राखेको आरोपमा व्यवसायी लेखनाथ सुवेदीमाथि समेत हातपात गरेका थिए।

    घटनाको उजुरी जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।

    हाल कर्मचारीको आन्दोलनका कारण पोखरा महानगरपालिकाको सेवा प्रवाह पूर्ण रूपमा ठप्प भएको छ।