८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कमल थापा : जनताको शान्तिपूर्ण बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्छौं

उनले राष्ट्रवादी शक्तिहरू एकजुट भएर हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको संकल्पसाथ अघि बढेको समेत बताए।



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ४६
  • काठमाडौं, जेठ ६ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताको शान्तिपूर्ण प्रदर्शनमार्फत हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना गर्ने घोषणा गरेका छन्।

    आज बिहान काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले काठमाडौं उपत्यकाका प्रत्येक घरमा पुगेर नागरिकलाई सडकमा उत्रन आह्वान गर्ने बताए। उनले आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण हुने स्पष्ट पार्दै, “हाम्रो रणनीति के हो भने यति धेरै जनता सडकमा उतार्नुपर्‍यो, सरकारले दमन गर्ने सोच्न पनि नसकोस्,” भने।

    उनका अनुसार काठमाडौं उपत्यकालाई ठप्प पार्ने गरी लाखौं जनतालाई सडकमा उतार्ने योजना रहेको छ। उनले यो आन्दोलनलाई ‘भद्र अवज्ञा’ र ‘सत्याग्रह’को स्वरूपमा अघि बढाइने बताए।

    थापाले सरकार भिडन्त गराउने रणनीति अपनाउन सक्ने सम्भावना औंल्याउँदै भने, “हामी भिडन्तमा जाँदैनौं, तर संयमता र शान्तिपूर्ण ढंगले आन्दोलनलाई अगाडि बढाउँछौं। जनताको व्यापक सहभागिताबाट संघीय, धर्मनिरपेक्ष गणतन्त्रलाई ढाल्नुपर्ने समय आएको छ।”

    राप्रपा नेपालसहित राजावादी दलहरूले सञ्चालन गर्न लागेको अभियानलाई ‘काठमाडौं उपत्यका जनजागरण यात्रा’ नाम दिइएको छ। यो अभियान जेठ ८ गते बिहान शंखरापुर नगरपालिका–साँखुबाट सुरु भई उपत्यकाका १५ वटा पालिकामा पुग्नेछ।

    थापाका अनुसार अन्तिम दिन जेठ ११ गते भक्तपुरको कमलविनायकमा पुगेर अभियानको समापन गरिनेछ। यसक्रममा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा घरदैलो अभियान सञ्चालन गरिनेछ।

    “राष्ट्रिय झण्डा बोकेर सबै पार्टीका प्रतिनिधिहरू एक ठाउँमा उभिएर प्रत्येक घरमा पुगेर एकपटक सडकमा उत्रिनुस् भनेर आग्रह गरिन्छ,” थापाले भने।

    उनले राष्ट्रवादी शक्तिहरू एकजुट भएर हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको संकल्पसाथ अघि बढेको समेत बताए।