काठमाडौं - असार १० – विश्व फुटबलका महान खेलाडी Lionel Messi को ३९औँ जन्मदिनको अवसरमा नेपाली मेस्सी समर्थकहरूले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै विशेष कार्यक्रम आयोजना गरेका छन्।
नेपाली मेस्सी समर्थक परिवारले नेपाल मानव सेवा संस्थामा आश्रित बालबालिकाहरूसँग जन्मदिनको खुसी साटासाट गर्दै विभिन्न खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेको जनाएको छ। कार्यक्रममा बालबालिकाहरूलाई फुटबल, क्रिकेट ब्याट, भलिबल लगायतका खेल सामग्री, शैक्षिक सामग्री तथा पोषिलो भोजन प्रदान गरिएको थियो।
आयोजकका अनुसार मेस्सीप्रतिको सम्मान र खेलप्रेमलाई समाजसेवासँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममार्फत बालबालिकाहरूको अनुहारमा मुस्कान ल्याउने र उनीहरूलाई खेलकुद तथा शिक्षातर्फ प्रेरित गर्ने प्रयास गरिएको बताइएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने Messi Fan Nepal का सदस्यहरू, नेपाल मानव सेवा संस्थाको टोली तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आयोजकहरूले आभार व्यक्त गरेका छन्।
आयोजकहरूको भनाइमा खेलप्रतिको प्रेम केवल मैदान र स्क्रिनमा सीमित नभई सामाजिक सद्भाव, सहयोग र मानव सेवाका कार्यमार्फत पनि अभिव्यक्त हुन सक्छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सहभागीहरूले मेस्सीको जन्मदिनलाई मनोरञ्जनात्मक उत्सवभन्दा माथि उठाएर सामाजिक सेवासँग जोड्नु सकारात्मक र अनुकरणीय पहल भएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस