८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख भट्टराईको मोबाइल जफत, फरेन्सिक परीक्षणमा पठाइयो

हाल गृह मन्त्रालयमा तानिएका भट्टराईलाई नियन्त्रणमा लिएर उनको मोबाइल बरामद गरिएको हो।



  • अञ्जना ढकाल
  • ४ घण्टा अघि
  • पाठक संख्या ३७
  • काठमाडौँ, जेठ ७ –भिजिट भिषाका नाममा सेटिङ मिलाएर खाडी मुलुक पठाइएका महिलाहरू नफर्किएको विषयमा अनुसन्धान अघि बढाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तथा सहसचिव तीर्थराज भट्टराईको मोबाइल जफत गरेको छ।

    अख्तियार स्रोतका अनुसार हाल गृह मन्त्रालयमा तानिएका भट्टराईलाई नियन्त्रणमा लिएर उनको मोबाइल बरामद गरिएको हो। उक्त मोबाइल डिजिटल फरेन्सिक ल्याब (DFL) मा परीक्षणका लागि पठाइएको छ। अख्तियारका एक उच्च अधिकृतका अनुसार, मोबाइल परीक्षणपछि अन्य उच्च तहका अधिकारीहरू संलग्न छन् कि छैनन् भन्नेबारे थप प्रमाण प्राप्त हुन सक्नेछ।

    यही सिलसिलामा अख्तियारले छापा मारेर विभिन्न मेनपावर र ट्राभल एजेन्सीहरूको डिभाइस पनि बरामद गरेको छ। ती सबै डिभाइसको परीक्षणपछि अनुसन्धानलाई थप तीव्र बनाइने जनाइएको छ।

    स्रोतका अनुसार, पछिल्लो समय भिजिट भिसामा सेटिङ मिलाएर खाडी मुलुक पुगेका ४७ महिला नफर्किएको तथ्य फेला परेको छ। अध्यागमन विभागले विदेश जानेहरूको रेकर्ड राख्ने गरे पनि फर्किनेहरूको विवरण अद्यावधिक नगरेको देखिएको छ।

    यही प्रकरणमा संलग्न कर्मचारीहरूले भिजिट भिषामा जानेहरूसँग असुल गरिने रकम बढाउने उद्देश्यले २०८१ साल चैत ३१ मा आन्तरिक सूचना (सर्कुलर) पनि गरेका थिए। सो सूचनामा “आइतबारदेखि भिजिट भिसामा जानेहरूलाई प्रस्थान अनुमति नदिइने” उल्लेख थियो, जुन आर्थिक लाभका लागि गरिएको सर्कुलर भएको बताइएको छ।

    विमानस्थल अध्यागमन कार्यालयमा हाल १२८ जना अधिकारी कार्यरत छन्। २०८० मङ्सिरमा फर्जी कागजात बनाएर विदेश पठाएको आरोपमा ९ जना अधिकारीविरुद्ध मुद्दा चलेको थियो। तीमध्ये विमल पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागोले सफाइ पाएपछि पुनः ‘सेटिङ’ सुरु भएको बताइएको छ।

    यस प्रकरणमा अख्तियारले अनुसन्धानलाई अझ व्यापक बनाउने तयारी गरिरहेको छ।