९ जेठ २०८२ शुक्रबार | 23 May 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

उत्तर प्रदेशमा आँधीबेहरी र वर्षाका कारण ५१ जनाको मृत्यु

भारतको उत्तर प्रदेश राज्यमा बुधबार राति र बिहीबार बिहानसम्म जारी आँधीबेहरी र वर्षाका कारण कम्तीमा ५१ जनाको ज्यान गएको छ।



  • एजेन्सीको सहयोगमा
  • ६ घण्टा अघि
  • पाठक संख्या ४१
  • भारत, जेठ ९ - भारतको उत्तर प्रदेश राज्यमा बुधबार राति र बिहीबार बिहानसम्म जारी आँधीबेहरी र वर्षाका कारण कम्तीमा ५१ जनाको ज्यान गएको छ। विभिन्न जिल्लामा पर्खाल र रूख ढल्दा तथा चट्याङ लाग्दा जनधनको ठूलो क्षति भएको हो।

    राज्यका आगरा, अलीगढ, लखनऊ, अम्बेडकर नगर, अमेठी, अयोध्या, कासगंज, इटाहा, फिरोजाबाद, टुन्डला, मुरादाबाद, कानपुर, बुन्देलखण्ड, आजमगढ, हाथरस, मेरठ, र बागपतजस्ता क्षेत्रमा यो विपत्तिले धेरै क्षति पुर्‍याएको छ।

    बुलन्दशहरमा ८९ किलोमिटर प्रतिघण्टा र मेरठमा ८० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको आँधीले पोल भत्काएर विद्युत् आपूर्ति अवरुद्ध गराएको छ। धेरै स्थानमा टिन र खरले बनाइएका छानाहरू उडाएका छन्।

    अम्बेडकर नगरका अजय सिंहको चट्याङ लागेर मृत्यु भएको छ भने अमेठी र अयोध्यामा पर्खाल भत्किँदा दुई जनाले ज्यान गुमाएका छन्। ब्रज क्षेत्रमा मात्र १७ जनाको मृत्यु भएको छ।

    कासगंजमा चार महिलासहित ६ जनाको ज्यान गएको छ भने इटाहमा पाँच, फिरोजाबादमा दुई महिला, टुन्डलामा एक बच्चा र बन्दौनको बिल्सीमा भत्किएको पर्खालले एक महिलाको मृत्यु भएको छ।

    यसैगरी मुरादाबादमा छतबाट लडेर, कानपुर र बुन्देलखण्ड क्षेत्रमा २२ जनाको मृत्यु भएको छ। आजमगढ, हाथरस, अलीगढ, मेरठ र बागपतमा समेत जनधनको क्षति भएको छ।

    स्थानीय प्रशासनले उद्धार र राहत कार्यलाई तीव्र बनाएको जनाएको छ। मौसम विभागले अझै केही दिन भारी वर्षा र आँधीबेहरी जारी रहने चेतावनी दिएको छ।